
विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकप प्रतियोगिताको उपाधि जित्ने काठमाडौंको चर्च ब्वाइज युनाइटेड र काठमाडौंकै थ्रीस्टार क्लबले दाबी प्रस्तुत गरेका छन् ।
प्रतियोगिताको उपाधि जितका लागि दुवै टोलीले बुधबार साँझमा खेल्ने छ । चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेतासमेत हो ।
दुवै टोली उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ भने थ्रीस्टार दोस्रो पटक उपाधि हात्याउने सोचमा रहेको छ ।
थ्रीस्टारले मछिन्द्र र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा पुगको हो । थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्रलाई २–१ गोल र सेमिफाइनलमा आर्मी क्लबलाई ३–२ गोलले हराएको थियो ।
त्यस्तै, विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र विभागीय टोली नेपाल पुलिसलाई हराउँदै फाइनलमा पुगेको हो । चर्च ब्वाइजले क्वाटरफाइनलमा एनआरटीलाई २–० गोल र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएको थियो ।
दुवै टोली यो सिजनमा पहिलो पटक मैदानमा भेट्दैछन् । चर्च ब्वाइजले यो सिजनमा ४ वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ ।
यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा ३ वटामा उपाधि जितेको छ । जसमध्ये फिदिम फाल्गुनन्द, झापा कप र बागमती गोल्डकपको उपाधि जितेको छ ।
मंगलबार विराटनगरस्थित सहिद रंगशालमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि आआफूले जित्ने दाबीका साथ मैदानमा उत्रने बताए ।
चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको र टोलीको लक्ष्य भनेकै उपाधि जित्नु हो । ‘यो सिजनमा हामीले मोफसलमा ३ वटा गोल्डकपको उपाधि जितेका छौं । यहाँ उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘यो गोल्डकपसहित यो सिजनको ४ वटा उपाधि हामी जित्ने योजनामा छौं ।’
चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे ।
‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रदर्शन गर्ने छौं र उपाधि जित एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने ।
थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
उनले, ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्ने छौं । डबल पहेंलो कार्ड पाएकोले फाइनल खेलका दिन मैदानमा उनको अभाव खट्ने छ । तर, पनि हामी उत्कृष्ट खेलाडी ल्याउने छौं ।’
फाइलनमा कसको कप्तानीमा टोली मैदानमा आउने छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले हामी टिमवर्क गर्दै छौं फाइनलमा कसलाई कप्तानको जिम्मेवारी दिने भनेर । खेल सुरुहुनु अघि मात्रै थाहा हुनेछ ।’
थ्रीस्टारका कप्तान योगेश गुरुङले आफू फाइनलमा नखेले पनि राम्रो टिमवर्क भएकोले उपाधि जित्ने विश्वास गरे । मेरो स्थानमा राम्रै खेलाडी मैदानमा आउने र टोली बलियो बन्न भएकोले उपाधि जितमा ढुक्क छु ।’
फाल्गुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित ‘ए’ डिभिजनका १० टोलीको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् । व्यक्तगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।



















