एन्फा महासचिव किरण राईविरुद्ध गाली बेइज्जती मुद्दा

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १९:३५

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध गोली बेइज्जती मुद्दा दायर भएको छ । 

एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फाका वर्तमान महासचिव किरण राईविरुद्ध मंगलबार अदालतमा गोली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरे हुन् । 

राईले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ (१) ले निषेधित र सोही दफा (२) (क) सोही दफा (२) (क) विपरीतको कसुर गरेको जिकिरसहित दफा ३०७ को उपदफा (१) बमोजिमको सजाय तथा सोही दफाको उपदफा (२) बमोजिमको क्षतिपूर्ति एवं मुद्दामा लागेको खर्चसमेत भर्न मुद्दामा माग दाबी गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ मा कसैले कसैको बेइज्जती गरे वा गराएमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसरी, विद्युतीय वा आम सञ्चारमाध्यमबाट बेइज्जती गर्ने गराउनेलाई मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्च समेत भराउने व्यवस्था संहिताले गरेको छ ।

अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्तो आधारहीन आरोप राईले आफूलाई लगाएर चरित्र हत्या गरेको थापाको जिकिर छ ।

थापाले यसअघि राईविरुद्ध प्रहरीको साइबर ब्युरो भोटाहिटीमा समेत उजुरी दिएका थिए ।

थापाले विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारबाही हुने विश्वास लिएको र भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्र हत्या हुने यस्ता गतिविधि गर्न नसक्ने विश्वास लिएको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.