थ्रीस्टारले  जित्यो विराट गाेल्डकपकाे उपाधि

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २८, बुधबार २०:५७

विराटनगर । थ्रीस्टार क्बलले ९ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारले यसअघि विराट गोल्डकपको ५ औं संस्करणको उपाधि जितेको थियाे ।

थ्रीस्टारलाई ९ औं संस्करणको उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पाँचौं मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए ।

थ्रीस्टारले दोस्रो गोल ६३ औं मिनेटमा गर्यो । दिपेश घलेले वान भर्सेस वानमा डी–बक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोलरक्षक टीकेन्द्र थापालाई लागेर फर्किएको थियो ।

फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।

उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रूपैयाँमा चित्त बुझायो । थ्रीस्टार पाँचौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।

चर्च ब्वाइज पहिलोपटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन ।

थ्रीस्टारले मछिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।

विराट गोल्डकपको पहिलोपटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतियोगिताको म्यान अफ दी म्याच चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकी घोषित भए । उनले नगद ११ हजार पाए । विधागत पुरस्कारमा थ्रीस्टारको वर्चश्व कायम रहयो ।

उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका गणेश खड्का घोषित भए । त्यसैगरी बेस्ट गोलकिपर थ्रीस्टारका विवेक मगर, हाइस्कोर थ्रीस्टारका दिपेश घले घोषित भए । प्रतियोगिताभरि उनले २ गोल गरेका थिए । उनीहरुले जनही नगद १५ हजार पाए । बेस्ट प्लेर अफ दी टुर्नामेन्ट थ्रीस्टारका खेमराज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार पाए ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित १० टिमको सहभागिता रहेको थियो । विजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराट गोल्डकपको संयोजक नवीन रिजालगायतले पुरस्कार वितरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.