घरेलु टोलीलाई पन्छाउँदै चर्च ब्वाइजले जित्यो मेचीनगर गोल्डकपको उपाधि 

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार २०:०५

झापा । झापाको मेचीनगरमा भएको ५ औं मेचीनगर गोल्डकपको उपाधि काठमाडौंको चर्च ब्वाइज युनाइटेडले जितेको छ । 

प्रतियोगिताअन्तर्गत शनिबार (आज) भएको फाइनल खेलमा चर्च ब्वाइजले आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलमा पराजित गर्दै उपाधि जितेको हो । 

मंसिरमा सम्पन्न झापा कपको उपाधि जितेको चर्च ब्वाइजले त्यसपछि कुनै प्रतियोगितामा जित्न सकेको थिएन । उपाधि जितसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्यो ।

उपविजेता भएको काँकरभिट्टाले ५ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो । 

जितका लागि खेलको ११ औं मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरे । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले फाइदा लिँदै गोल गरेका थिए । 

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङले ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वाले ५१ हजार रुपैयाँ प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनहरुले जनही नगद २५ हजार र ट्रफी पाए । 

त्यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ, गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डर आयोजकका दिवस उराउले जनही २१ हजार रुपैयाँ पाए । उदीयमान खेलाडीको पुरस्कार आयोजकका पर्शु राईले १५ हजार प्राप्त गरे ।  

प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, जर्जियन फुटबल क्लब भारत र  उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी थिए ।

समापन समारोहमा फुटबल  खेलाडीहरु सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगीता राउत, लुना प्रधान, लीला थापालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।  

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओली, मेयर गोपालचन्द्र बुढाथोकी र प्रतियोगिताको संयोजक श्रीप्रसाद मैनालीलगायतले पुरस्कार प्रदान गरे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.