
झापा । झापाको मेचीनगरमा जारी क्रिकेट प्रतियोगितामा थण्डर – ११ विजयी हुँदैछ फाइनलमा पुगेको छ ।
मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा भएको इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगितामा थण्डरले आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।
आयोजकले टस जितेर थण्डरलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । पहिलो ब्याटिङ थालेको थण्डरले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ५ रनको योगफल खडा गरेको थियो । रोहित राजवंशीले ७३ रन, विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ र विराट डाँगीले २० रन बनाए ।
बलिङतर्फ आयोजकका आयुष दाहाल र सन्तोष प्रधानले समान ३–३ विकेट, नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले समान १–१ विकेट लिए ।
२ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा आयोजकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्रै १ सय २९ रनमै समेटियो । राजेश थापाले ४६ रन, गणेश पौडेलले १७ रन र आयुष दाहालले १४ रन बनाए ।
बलिङमा थण्डरका विराट डाँगी, शिव राजवंशी र एलिट राईले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच थण्डरका रोहित राजवंशीले १ हजार रुपैयाँ प्राप्त गरे ।



















