मिल्स गोल्डकप : प्रहरीलाई स्तब्ध बनाउँदै घरेलु टोली सेमिफाइनलमा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार १९:०४

विराटनगर । विराटनगरमा जारी ५ औं मिल्स गोल्डकपको सेमिफाइनलमा घरेलु टोली पेमा स्पोर्टिङ क्लब पुगेको छ । 

प्रतियोगिताअन्तर्गत सोमबार (आज) भएको खेलमा पेमाले विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई २–० गोलअन्तरमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारेको हो । 

पेमाको जितका लागि हरि खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा अनिल परियाले मिलाइ दिएको पास हरिले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा डिबक्सभित्रबाट गरेको कडा प्रहार प्रहरीको गोलरक्षक बाल्मिकी राईलाई लागेर फर्केको बललाई अनिलले पोस्टको दिशा दिएका थिए । 

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको थियो । दोस्रो हाफदेखि पेमाले आक्रामक खेल्दै जित आफ्नो पक्षमा पार्न सफल भयो ।

पुलिसले दोस्रो हाफपछि पाएको केही अवसर चुकाउँदा घरेलु टोलीलाई खेल सुम्पनु पर्यो । खेलको प्लेयर अफ म्याच पेमाका अनिल परियारले २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

विराटनगरको जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप फुटबल ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबार भारत विहारको बाइएससी खोखा झिल कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.