क्षितिज र नितालाई उपाधि

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार ०९:१२

काठमाडौं । एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् । क्षितिज पुरुष र निता महिलामा च्याम्पियन बने ।

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८ र २१–१५ को सोझो सेटमा पराजित गरे । धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेस्रो भए ।

नखिपोटस्थित आयोजक क्लबको कभर्ड हलमा भएको महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई सिधा सेटमा २१–१२ र २१–१३ ले हराइन् ।

आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेस्रो बने । पुरुष / महिला दुवैमा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय / ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

यु–१७ पुरुष सिंगल्समा प्रहरीका कविर केसीले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका सुविन श्रेष्ठलाई २१–१०, १६–२१ र २१–११ को सेटमा पाखा लगाए ।

फिट्नेस पार्कका अमन डंगोल र लभ बीएका इमा तामाङ तेस्रो स्थानमा रहे । पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ / ५ हजार नगद पुरस्कार हात पारे ।

मिक्स डबल्समा एपीएफका क्षितिजले शोभा गौचनसँग मिलेर अर्को स्वर्ण जिते । उक्त जोडीले फाइनलमा प्रहरीका जीवन आचार्य र निता लम्सालको जोडीलाई २१–१२ र २१–५ को सोझो सेटमा पाखा लगाए ।

आर्मीका पविन लिङ्थेप र अनुमाया राई तथा आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीले तेस्रो स्थान भए । विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले ७ हजार ५ सय / ७ हजार ५ सय नगद पुरस्कार पाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले बाजी मारे । सञ्जय र अनिलको जोडीले फाइनलमा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीमाथि २२–२० र २१–१७ को जित दर्ता गरे ।

बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठ तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेस्रो स्थानमा रहे । शीर्ष ३ स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गरे ।

पुरुष डबल्समा आर्मीका पविन लिङ्थेप र विधान अधिकारीको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीलाई २१–१६, २२–२० र २१–१४ ले पछ्याउँदै पहिलो भए ।

धादिङका राम मल्ल ठकुरी र सुजन थापा तथा बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सुमन शाक्यको जोडी तेस्रो भए । पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/ १० हजार नगद पुरस्कार पाए ।

४ दिने प्रतियोगिता १ सय ३१ खेलाडीको सहभागिता रहेको थियो । विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा भएको  थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.