
काठमाडौं । गोर्खाली फिटनेसका उमेश राईले उपाधिसहित १७ औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।
काठमाडौंमा भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाणपत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६ औं संस्करणका पनि विजेता हुन् ।
त्यस्तै, उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे । तृतीय स्थानमा रहेका दाङका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे । धर्मश्रीमा २ पटक उपाधि चुम्ने राई तेस्रो खेलाडी हुन् । यसअघि नरेश महर्जन र सानु गुरुङले २ पटक उपाधि जितेका थिए ।
नेपालमा व्यायाम क्षेत्रको जननी संस्था नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउन्डमा प्रवेश गरेका थिए ।
त्यस्तै, ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउन्डमा प्रवेश पाएका थिए । ६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीहरूले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
उपाधि भिडन्तको चौथो स्थानमा मसल्स एण्ड फिटनेसका असिमबाबु गुरुङ रहे । उनले नगद २ लाख प्राप्त गरे । प्लाटिनियमका विनोद सुनुवार पाँचौ स्थानमा रहे । उनले नगद १ लाख ८० हजार प्राप्त गरे ।
छैटौँ स्थानमा रहेका नर्भ द फिटनेसका सिद्धान्त जसरोटियाले नगद ५० हजार प्राप्त गरे ।
तौल समूहअन्तर्गत भएको प्रतिस्पर्धामा ६० केजी तौल समूहमा नर्भ द फिटनेस स्टेसनका सिद्धान्त जसरोटियाले प्रथम स्थान हात पार्दै ओभरअलमा छनौट हुन सफल भए ।
दोस्रो स्थानमा मेटल फिटनेस कागेश्वरीका किसन दास दिवाकर तथा तेस्रो स्थानमा बी एन्ड एल फिटनेस स्टेसनका धर्मराज खापुङ रहे ।
त्यसैगरी, ६५ केजीको प्रथम स्थानमा मिस्का फिटनेस क्लबका माधव सुवेदी, दोस्रोमा डेयर टु फिट जिमका अजय मलिक, तेस्रोमा नेपाल व्यायाम मन्दिरका क्षितिज थापा भए ।
७० केजीमा प्रथम मसल एन्ड फिटनेसका असिमबाबु गरुङ, दोस्रो स्थानमा नेपाल व्यायाम मन्दिरका आशिष देवा, तेस्रोमा यु.आर फिटनेसक उपेश सापकोट भए ।
७५ केजी तौलको प्रथम प्लाटिनिम फिटनेसका विनोद सुनार, दोस्रोमा चितवन फिजिकल फिटनेसका मरिचमान लामा, तेस्रोमा नेपाल व्यायाम मन्दिरका मनोज श्रेष्ठ भए ।
त्यस्तै, ८० केजी तौल समूहमा ग्यालेक्सी फिटनेश सेन्टरका ललित धिमालले व्यायाम मन्दिरका सञ्जीव श्रेष्ठलाई पछि पार्दै ओभरअलमा स्थान पक्का गरे । सञ्जीवले यस खेल पश्चात सन्यासको घोषणा गरे । तेस्रो व्यायाम मन्दिरकै आदित्य ठाकुर भए ।
८० केजीमाथिको तौलमा प्रथम उमेश राई धर्मश्रीको उपाधिका लागि छनोट हुँदा दोस्रो व्यायाम मन्दिरका गे्रस महर्जन र तेस्रो व्यायाम मन्दिरका सुवास श्रेष्ठ भए ।
तौल समूहमा दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार नगदसहित मेडल र ट्रफी प्राप्त गरे ।
त्यस्तै, महिला बडी बिल्डिङ खुलातर्फ प्रथम भक्तपुर डिस्पिराडोकी तारा खाइजु, दोस्रो कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे र तेस्रो डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठ भइन् ।
मास्टर्स खुलातर्फ नेपाल व्यायाम मन्दिरका किशोर शाही प्रथम, काठमाडौं जिमका राजकुमार शाही दोस्रो र नेपाल व्यायाम मन्दिरकै कृष्णसिंह शाही तेस्रो भए ।
पुरुष स्पोट्र्स फिजिक १७० मूनिको समूहमा पावर फिजिकल फिटनेसका आकाश श्रेष्ठले प्रथम, एनवाइएफसीका निरल थापा दोस्रो र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो तेस्रो भए ।
यस्तै, १७० सेमी माथिको समूहमा गोल्ड्स जिमका रमन तुलाधरले प्रथम, आरएनएफसीका नुरबहादुर कुँवर दोस्रो र नेपाल व्यायाम मन्दिरका शिभकुमार सिंह तेस्रो भए ।
यसैगरी, पीएल सिंह मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गरे ।
५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैटौंले १० हजार पाए ।
खेलाडीहरुलाई काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहलगायतले पुरस्कार प्रदान गरे ।





















