
विराटनगर । प्रदेश स्तरीय टी २० क्रिकेट प्रतियोगिता विराटनगर–१९ वैजनाथपुरको गिरिजाप्रसाद कोइराला रंगशालामा मंगलबारदेखि सुरु हुँदैछ ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेल इलाम र उदयपुरबीच हुने एकेडेमीका सचिव शान्त जोशीले जानकारी दिए ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
चैत १६ गतेसम्म हुने प्रतियोगितामा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी, मोरङ, इलाम र उदयपुरको सहभागिता रहेको छ ।
प्रतियोगिता लिगको आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजारका साथै मेडल, ट्रफी प्राप्त गर्ने छन् ।
म्यान अफ द सिरिजले १५ हजार पाउने छन् भने बेस्ट ब्याट्समेन, बेस्ट बलरले जनही ११ हजार पुरस्कार पाउने छन् । खेलको म्यान अफ द म्याच हुने खेलाडीले २ हजार ५ सय प्राप्त गर्ने छन् ।



















