क्षयरोग न्यूनीकरण गर्न घर घरमै परीक्षण हुनु आवश्यक 

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ११, सोमबार २०:१५

विराटनगर । विश्व क्षयरोग दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमका सहभागीहरूले क्षयरोग न्यूनीकरण गर्नका लागि घर घरमै गएर परीक्षण गर्नुपर्ने बताएका छन् । 

‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सोमबार (आज) विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रत्येक २४ मार्चका दिन मनाइने विश्व क्षयरोग दिवसको अवसरमा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था  मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले क्षयरोग न्यूनीकरण गर्न घर घरमै स्वास्थ्य परीक्षणको पहुँच पुर्याउनु आवश्यक रहेको बताएका छन् । 

सो अवसरमा बोल्दै नर्सिङ कलेज विराटनगरकी क्याम्पस प्रमुख मेनुका भण्डारीले पछिल्लो समय देश सर्ने र नसर्ने दुवै रोगको चपेटामा परेको बताइन् ।

उनले पहिले गरिबको रोग भनिने क्षयरोगबाट पछिल्लो समय धनि मानिएकाहरुसमेत देखिन थालेको बताइन् । वातावरण प्रदुषण र सामाजिक अवस्थालगायतको कारणले यो रोगको सङ्क्रमण डर लाग्दो रुपमा समाजमा फैलिरहेको उनले प्रस्ट्याइन् । 

देशमा ठूलो समस्याको रुपमा आएको क्षयरोग सामूहिक प्रयासबाट मात्र न्यूनीकरण सम्भव भएको हुँदा सरकारले यसलाई विशेष ध्यान दिँदै एकीकृत कार्यक्रमहरू संचालन गर्नुपर्ने भण्डारीले भनिन् । सरकारले सहर र सहज हुने ठाउँमा मात्रै परीक्षणको व्यवस्था गरेको बताउँदै, भण्डारीले भनिन्, ‘ग्रामीण क्षेत्रमा अर्थात् गाउँ गाउँका घर घरमा पुगेर सबैलाई परीक्षणको दायरामा ल्याउन सके क्षयरोज न्यूनीकरण हुनेछ । पछिल्लो समय सहज बजारमा व्यापक समस्याका रूपमा देखिन थालेको छ ।’ 

सो अवसरमा बोल्दै डाक्टर नारायण कुमारले क्षयरोगबाट २०२३ मा १० लाख बढीको मृत्यु भएको डब्लूएचओको तथ्यांकमा देखिएको बताए । उनले यो रोग न्यूनीकरण गर्न समुदायलाई समेत सहभागी गराएर समाजमा लुकेर बसेका बिरामीको खोजी गर्न आवश्यक रहेको बताएका छन् । 

त्यसैगरी, क्षयरोग निवारण संस्था मोरङका डा. वसन्त मेहताले नङ र कपाल बाहेक शरीरका सबै अंगमा क्षयरोग लाग्न सक्ने बताए । उनले यद्यपि ७० प्रतिशत फोक्सोको क्षयरोग नेपालमा देखिने गरेको प्रस्ट पारे ।

गत वर्ष नेपालमा ७० हजार क्षयरोगी भएको अनुमान गरिएकोमा ४० हजार रोगी मात्रै उपचारको दायरामा आएको बताए । अन्य ३० हजार बिरामी समाजमै लुकेर बसेको हुँदा यस्ता बिरामीबाट झन् जोखिम बढ्ने बताए ।

एक जना क्षयरोग संक्रमितले १० देखि १५ जनालाई रोग सार्ने गरेको तथ्यांकबाट देखिएको बताउँदै, डा. मेहताले भने, ‘नेपालमा बर्सेनि १७ हजार मानिस यो रोगबाट मर्ने गरेको देखिएको छ । समाजमा लुकेर बसेका शंकास्पद बिरामीको समेत मृत्यु हुने हुँदा यसको संख्या बढ्न सक्छ ।’

त्यस्तै, आयोजक संस्थाका उपसभापति भैरव क्षेत्री, कास्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ निरीक्षक मुलुकचन्द राजवंशी, आयोजक संस्थाका सल्लाहकार श्याम पौडेल, बीएनएमटीका जिल्ला कार्यक्रम अधिकृत रामप्रसाद कोइरालाललगायतले बोल्दै सरकारले क्षयरोगलाई गम्भीरता पूर्वक नलिएको बताए । 

सो अवसरमा ११ जनालाई बिरामीलाई बीएमटीको सहयोगमा र १८ जनालाई डीआर टिबीका बिरामीलाई क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयको सहयोगमा पोषण युक्त खाद्य सामाग्री प्रदान गरिउको थियो । 

त्यस्तै, बुढीगंगामा रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले पनि क्षयरोग दिवसका अवसरमा सचेतना मूलक र्याली निकाल्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×