
धरान । धरानमा जारी २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ११ र १८ नम्बर वडा विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत सोमबार राति भएको पहिलो खेलमा १८ नम्बर वडाले १९ नम्बर वडालाई ३–२ गोल अन्तरमा पराजित गर्दै प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
टाइब्रेकरमा १८ नम्बर वडाका लागि निकेन राई, सौनक श्रेष्ठ र रोशन उराउले गोल गरे भने उज्वल राई र विवेक परियारले गोल गर्न चुके । १९ नम्बर वडाका लागि सनम लिम्बू र इन्सन राईले मात्रै गोल गर्न सके भने आयाम राई, अभिषेक राई र नाम्बाहाङ लिम्बूको प्रहारलाई विपक्षी गोलरक्षक धिरज बस्नेतले बाधक भए ।
खेलको २३ औं मिनेटमा प्रबल राईले गोल गर्दै १८ नम्बर वडालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा १९ नम्बर वडाका प्रमेश राईले गोल गर्दै खेललाई बराबरीमा ल्यायो ।
६१ औं मिनेटमा १९ नम्बर वडाका अतित राईले गोल गर्दै अग्रता बनाए । खेलको अन्तिम इन्जुरी समयमा १८ नम्बर वडाका सौनाक श्रेष्ठले गोल गरेपछि खेल पुनः बराबरीमा आएको थियो । खेलको म्यान अफ द म्याच १८ नम्बर वडाका गोलरक्षक धिरज बस्नेत भए ।
त्यस्तै, दोस्रो खेलमा ११ नम्बर वडाले ३ नम्बर वडालाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटर फाइनलमा पुगेको छ ।
खेलको ६ मिनेटमा ३ नम्बर वडाका युनिक लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए । मध्यान्तरपछि ११ नम्बर वडाका पवन राईले २ गोल र प्रवीण राईले १ गोल गर्दै टोलीलाई विजयी बनाए ।
खेलको म्यान अफ द म्याच ११ नम्बर वडाका पवन राई भए ।



















