प्रदेश स्तरीय टी २० : मोरङ र आयोजक विजयी

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार २०:२७

विराटनगर  । विराटनगरमा जारी प्रदेश स्तरीय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन मोरङ र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी विजय भएका छन् । 

प्रतियोगिताअन्तर्गत बुधबार (आज) गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मोरङ जिल्लाले उदयपुर जिल्लालाई ५० रनले पराजित गरेको छ । 

टस जितेर पहिले ब्याटिङ थालेको मोरङले १९ ओभर ६ बलमा सबै विकेटको क्षतिमा १ सय १९ रनको चुनौती प्रस्तुत गरेको थियो । दीपक पासवानले २९ रन, सन्तोष चौधरीले १८ रन बनाए ।

बलिङमा उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३–३ विकेट लिए ।  

१ सय २० रनको लक्ष्य पछ्याएको उदयपुरले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ६९ रनमै समेटियो । पर्वत राईले १५ रन, नवराज सिग्देलले ११ रन र निराजन तिवारीले १० रनको योगदान दिए ।

मोरङका मिनाश थापाले ४ विकेट र अमर यादवले ३ विकेट लिए । थापा प्लेयर अफ म्याच हुँदै २ हजार ५ सय प्राप्त गरे । 

त्यसैगरी, आजै भएको दोस्रो खेलमा आयोजकले सुनसरीलाई ६ विकेटले पराजित गर्यो । टस जितेर पहिलो ब्याटिङ थालेको सुनसरीले १९ ओभर ६ बलमा सबै विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनायो । सोनु मण्डलले ३४ रन र रितेश रोयले २८ रन बनाए ।

आयोजकका जोशक खड्काले ५ विकेट, विधान गोस्वामीले ३ विकेट तथा प्रशान्त साह र कृष्णले समान १–१ विकेट लिए । 

आयोजकले पाएको १ सय १८ रनको विजय लक्ष्य २० ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्यो । निरु मुखियाले ३६ रन, मुकुन्द यादवले २५ रन र जोशक खड्काले १५ रनको योगदान दिए ।

सुनसरीका हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १–१ विकेट लिए । आयोजकका जोशक खड्का प्लेयर अफ द म्याच हुँदै २ हजार ५ सय प्राप्त गरे । 

प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल मोरङ र इलामबीच तथा दोस्रो खेल सुनसरी र झापाबीच हुनेछ ।

बुधबारसम्मको अंक तालिकामा मोरङ, आयोजक र उदयपुरले समान २–२  अंक जोडेका छन् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.