
विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टी– २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन भिडन्तमा घरेलु टिम मोरङलाई २ विकेटले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो । जितसँगै आयोजकले नगद १ लाख १ हजार रुपैया हात पार्यो । उपविजेता बनेको मोरङले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो ।
मोरङले दिएको १२० रनको लक्ष्य आयोजकले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । आयोजकको जितमा कृष शर्माले २४ रन बनाए । उनले १९ बलमा २ चौका प्रहार गरे ।
सौगात भट्टराईले अविजित १८ बलमा १९ रनको योगदान दिए । उनले १ चौका प्रहार गरे । उनी खेलको प्लयेर अफ दी फाइनल घोषित भए । प्रशान साहले अविजित १२ बलमा १३ रन पारी खेल्दा सागर मोचेले १८ बलमा १६ रनको योगदान दिए । निरज मुखियाले ६ बलमा १४ रन र मुकुन्द यादवले १३ बलमा १० रन बनाए ।
मोरङका बलर मेहबुब इराकी २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । एरन अलीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । टस जितेर ब्याटिङ थालेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा ११९ रनको मध्यम योगफल बनाएको थियो ।
कमलदेव चौधरीले अविजित ४२ बलमा ४३ रन बनाएका थिए । उनले ४ चौका र १ छक्का प्रहार गरे । कृतिक कामतले ४३ बलमा ३४ रन बनाए । उनले २ चौका हिर्काए । कपिल मण्डलले अविजित १० बलमा २५ रनको योगदान दिए । मोरङका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
आयोजकका जोशक खड्काले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए भने प्रशान्त साह र सौगात भट्टराईले समान १ –१ विकेट लिए ।
खेलको प्यलेर अफ दी सिरिज मोरङ जिल्लाका मिनष थापा घोषित भए । उनले नगद १५ हजार पाए । बेस्ट ब्याटर आयोजकका मुकुन यादव र बेस्ट बलर उदयपुर जिल्लाका तेज आचार्य घोषित भए । उनीहरुले जनही ११ हजार रुपैयाँ पाए ।
मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा चैत १२ गतेदेखि प्रतियोगिता भएको हो । प्रतियोगितामा क्यान आबद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टिम र खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बिन्ध्या कार्की, जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य शान्ता जोशी, मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका छन् ।
यसअघिको समाचारमा पराजित हुनुपर्ने टिम मोरङ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.



















