
विराटनगर । विराटनगरमा आयोजना हुने चौथो संस्करणको ‘इक्युवालिटी कप क्रिकेट, २०२५’ प्रतियोगिताको उद्घाटन खेलमा इलाम र सप्तरी भिड्ने भएका छन् ।
नेपाल क्रिकेट फाउण्डेशनले सोमबारदेखि प्रतियोगिता आयोजना गर्दै छ । फाउण्डेशनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगर महानगरपालिका–६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ ।
फाउण्डेशनका संयोजक मन्दिप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी हुनेछन् । ४ वटै जिल्लाका क्रिकेट संघले पठाएका टिमहरूबीच लिगको आधारमा प्रतिस्पर्धा हुने छ । सोमबार २ खेल हुने छन् । पहिलो खेल इलाम र सप्तरीबीच हुने छ भने दोस्रो खेल मोरङ र सिराहाबीच हुने छ ।
फाउण्डेशनले म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत इक्युवालिटी कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए । उनका अनुसार यस आयोजनामार्फत उत्पादन भएका महिला खेलाडीहरु देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न सफल भएका छन् ।
फाउण्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुका अनुसार नवप्रतिभा पहिचानको लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । यस प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा र्पुयाएको उनको भनाइ छ ।
मोरङका सानु राजवंशी, निरु राजवंशी (काजल) र पूर्णिमा राजवंशीले ठूला प्रतियोगिता खेल्न पाएको उनले सुनाइन् । फाउण्डेशनले सानै उमेरका बालिका तथा युवतीहरूका लागि क्रिकेट प्रशिक्षणदेखि लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दै आएको छ ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गर्ने प्रतियोगितामा लिग चरणका ६ र फाइनलसहित जम्मा ७ वटा खेल हुने छन् । इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता महिला सशक्तीकरण र समानताको सन्देश दिने महत्वपूर्ण प्लेटफर्म बन्दै गएको गुवाजुको भनाइ छ ।
उनका अनुसार यस प्रतियोगिताले ग्रामीण क्षेत्रका युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ । प्रतियोगिता सञ्चालनका लागि साढे ६ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । तेस्रो संस्करणको उपाधि भने मोरङले हात पारेको थियो ।



















