
विराटनगर । महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथो संस्करणको ‘इक्वालिटी कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गरेको छ ।
विराटनगर– ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउन्डमा आज (सोमबार) भएको खेलमा सप्तरी र मोरङले विजयी सुरुवात गर्यो । पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । खेलमा इलामकी प्रीयंका राईले सर्वाधिक ४१ रन बनाइन् । सप्तरीकी सुस्मिता यादवले सर्वाधिक २ विकेट लिइन् ।
१ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १४ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सप्तरीको जितमा प्लेयर अफ द म्याच साक्षी यादवले अविजित ६० रन बनाउँदा बन्दना रजकले पनि अविजित १३ रनको योगदान दिइन् । इलामकी मुना राई र टिकामाया तामाङले १–१ विकेट लिइन् ।
दोस्रो खेलमा मोरङले सिराहालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिराहाले निर्धारित २० ओभरको खेलमा १२ दशमलव २ बलमा सबै विकेट गुमाउँदा ६० रनमा सीमित भयो । सिराहाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । मोरङकी प्लेयर अफ म्याच कृतिषा धामीले सर्वाधिक ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिएकी थिइन् ।

६१ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ९ दशमलव १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । मोरङको जितमा सानु राजवंशीले अविजित २८ रन बनाउँदा टिका साहले १५ रन बनाइन् ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले ब्याटिङ, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बलिङ र सिनियर अम्पायरले विकेट कि पिङ गर्दै गरेका थिए ।
प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिराहा र सप्तरीका महिला टिमहरू सहभागी रहेको खेल संयोजक मन्दिप साहले जानकारी दिए । खेल लिगको आधारमा खेलाइने प्रतियोगिता बिहीबार सम्म चल्नेछ । लिगमा टप गर्ने दुई टिमबिच फाइनल खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीजले सहयोग गरेका छन् । क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्वालिटी कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए ।
आयोजक फाउण्डेसनले प्रतियोगिताका लागि साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गत संस्करणमा भने मोरङ महिला टोलीले उपाधि हात पारेको थियो ।



















