
विराटनगर । चैत २३ गतेबाट चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।
विराटनगर जुट मिल खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा भारतका ६ र नेपालका ६ टिम गरी जम्मा १२ टिमको सहभागिता रहेको क्लबकी सचिव शान्ता श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगितामा भारतको दिल्ली युथ क्लब, हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटना, प्रशान्त क्रिकेट क्लब जोगवनी, डिजायर क्रिकेट क्लब पूर्णिया, बिहार क्रिकेट क्लब र मुन क्रिकेट एकेडेमी फारबिजगन्चको टिम रहेको छ । स्वदेशका होराइजन क्रिकेट क्लब विराटनगर, सिरहा क्रिकेट क्लब, झापा जिल्ला क्रिकेट क्लब, आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडमी, सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) नेपाल र वाइआरसीसी विराटनगर रहेको छ । प्रतियोगिताको उद्घाटन खेल आउँदो शनिबार जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुनेछ ।
प्रतियोगिता नकाउट आधरमा हुने आयोजकले बताएको छ ।
यसवर्षको प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ । जुन गत वर्षको तुलनामा ५० हजार बढी हो । उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ, जुन गत वर्षको भन्दा २६ हजार पुरस्कार राशी बढाएको क्बलकी सचिव श्रेष्ठले बताइन् ।
गत वर्ष बिजेतालाई नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेतालाइ गत वर्ष ७५ हजार रुपैयाँ रहेको थियो ।
तेस्रो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले उपाधि जितेको थियो ।
मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद कूटनीतिलाई सुदृढ बनाउनुका साथै स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने प्रतियोगिताको संयोजक तथा विराटनगर १६ का वडाअध्यक्ष उद्धव भुजेलले बताए ।



















