
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्यामा परिवारकै सदस्य संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
महिलाको बिहीबार पहिचान खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरी उनको हत्यामा परिवारभित्रकै सदस्यको संलग्नता रहेको निष्कर्षमा पुगेको हो । प्रहरीका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या भएको हो । पछिल्लो २ वर्षयता उनी १३ वर्षीय छोरासँग इटहरी उपमहानगरपालिका–२ हलगडामा डेरा बस्दै आएकी थिइन् ।
महिलाको हत्यामा परिवारकै संलग्नता रहेको ‘क्लू’ फेला परेपछि प्रहरीले अनुसन्धानका लागि मृतकको घरतर्फका ४ चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले देवर, देउरानी र नन्दसहितलाई नियन्त्रणमा लिएको हो । अर्का १ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले घटनाको अनुसन्धान भइरहेको बताए । घटनाको विषयमा सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइसकिएको भए पनि हत्यामा उनीहरुको संलग्नता छ कि छैन भनेर यकिन हुन बाँकी रहेको उनको भनाइ छ ।
मृतकका पति प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा छन् । कोरियाबाट आएर उनी करिब ३ महिना अघि पुनः कोरिया नै फर्किएका थिए । प्रहरीका अनुसार पतिसँग चुनकुमारीको सम्बन्ध राम्रो थिएन ।
चुनकुमारीको हत्यामा श्रीमानसँगको खटपट पनि कारण देखिएको प्रहरी स्रोतले बतायो । चुनकुमारी र प्रेमबहादुरबीच करिब १६ वर्षअघि विवाह भएको थियो । उनीहरुका १३ वर्षीय छोरा छन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धरानमा हत्या गरिएकी चुनकुमारी : छोरासँग इटहरी बस्थिन्, पति कोरियामा

























