
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–२ मा वैशाख १ गते नयाँ वर्षको दिन (गत सोमबार साँझ) गोली काण्ड मच्चाएर भागेकाहरु अझैसम्म पक्राउ परेका छैनन् ।
यद्यपि, प्रहरीले खोजी जारी राखेको छ । घटना भएको १ साता हुन लाग्दा पनि गोली काण्डमा संलग्नहरु फेला नपरेका हुन् । घटनामा संलग्नको पहिचान भइसकेको र पक्राउका लागि प्रहरी परिचालित रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।
गोली काण्डपछि देवागन्ज–७ का जयकृष्ण यादव, उनका बुवा कामेश्वर यादव तथा भारतीय नागरिकहरु राजा पासवान र बाबुल यादव फरार छन् । जयकृष्णले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न अझै केही व्यक्तिका बारेमा पनि प्रहरीले जानकारी प्राप्त गरेको छ ।
गोली लागेर देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता र देवानगन्ज–१ का अन्दाजी २५ वर्षीय रविनकुमार यादव घाइते भएका थिए । देवानगन्ज–१ का अन्दाजी २१ वर्षीय पिन्टु यादव मोटरसाइकलबाट लडेर घाइते भएको प्रहरीको भनाइ छ ।
सामान्य उपचारपछि रविन र पिन्टुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेर अवस्था गम्भीर बनेका शिवकुमारको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
शल्यक्रिया गरेर दुवै गोली निकालिएको एसपी तिम्सिनाले बताए । रविनको भने नाकमा गोली लागेको पाइएको छ ।
एसपी तिम्सिनाका अनुसार फरार रहेका र घाइते भएकाहरु अपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन् । तस्करी र विभिन्न अपराधमा संलग्न उनीहरु बीच लेनदेनमा कुरा नमिल्दा सुरुमा दोहोरो झडप भएर पछि गोली चलेको पाइएको प्रहरीको भनाइ छ ।
गोली काण्डपछि घटनामा संलग्नहरु भारततिर भागेको जानकारी प्रहरीले प्राप्त गरेको छ । नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर खोजी तीव्र पारेको छ । तर, हालसम्म फेला पार्न सकेको छैन ।
प्रहरीका अनुसार घटनामा संलग्न भनिएकामध्ये राजा पासवान कुख्यात अपराधी हुन् । भारतीय प्रहरीलाई केही समयअघि गोली हानेको घटनामा उनको संलग्नता रहेको उच्च सुरक्षा स्रोतले बतायो । उनी भारतीय प्रहरीको पनि खोजी सूचीमा रहेका व्यक्ति हुन् ।
देवानगन्ज–२ का वडाध्यक्ष जगनारायण मेहताका अनुसार घटनास्थल बाक्लै घरहरु भएको यादव टोलबाट करिब २५ मिटर दुरीमै छ । देवानगन्ज बजारबाट करिब ५ सय मिटर उत्तरमा पर्छ । इलाका प्रहरी कार्यालय देवानगन्जबाट करिब १ किलोमिटर पूर्वमा पर्ने वडाध्यक्ष जगनारायणले बताए ।
देवानगन्जमा इन्स्पेक्टर कमल विष्टको नेतृत्वमा प्रहरी छ । तर, आपसी विवादमा दोहोरो झडप भएर गोली चलेको लामो समयसम्म प्रहरी बेखबर रहयो । कार्यालयनजिकै गोली काण्ड हुँदा पनि बेखबर हुनुले प्रहरीको कामकारबाही र भूमिकामाथि प्रश्न उठेको छ ।
प्रहरीले घटना करिब डेढ घण्टापछि मात्रै थाहा पाएको थियो । घाइते भएकामध्ये शिवकुमारलाई उपचारका लागि अस्पताल ल्याएपछि प्रहरीले घटनाको जानकारी पाएको हो । प्रहरी घटनास्थल पुगेपछि मात्रै अरु पनि घाइतेहरु रहेको पत्ता लाग्यो ।
प्रहरीले घटना थाहा पाउँदा घाइतेहरु बाहेक गोली काण्डमा संलग्न अरु फरार भइसकेका थिए । एसपी तिम्सिना सुरुमा घटना लुकाउन खोजिएको बताउँछन् । ‘घटना लुकाउनलाई नै गम्भीर घाइतेलाई सुटुक्क अस्पताल ल्याइएछ । सामान्य अवस्थाका २ जनालाई गाउँमै राखेको पाइयो । प्रहरी घटनास्थलमा पुगेपछि मात्रै उनीहरु घाइते भएको पत्ता लाग्यो । तर, घटना थाहा पाएयता प्रहरीका तर्फबाट गम्भीर ढंगले अनुसन्धान भइरहेको छ । खोजी तीव्र पारेका छौं । हालसम्म फेला परेका छैनन्,’ उनले भने ।
प्रहरीका अनुसार गोली काण्ड मच्चाउने र घाइते हुनेहरु साथी–साथी हुन् । सीमा क्षेत्रबाट तस्करी र लागुऔषधको धन्दा चलाइरहेका उनीहरु बीचमा लेनदेन विवाद देखिएको प्रहरीको भनाइ छ । ‘तस्करीको पैसा बाँडफाँटमा कुरा नमिलेपछि सुरुमा भिडन्तमा उत्रिएछन् । दोहोरो झडप र हानाहान भएको स्थानीयले देखेका रहेछन् । पछि ३ राउण्डजति गोली चलेको रहेछ,’ प्रहरी स्रोतले भन्यो ।
प्रहरीका अनुसार हालसम्म पक्राउ परेका रविनलाई लागुऔषध गाँजा तस्करीसँग जोडिएको मुद्दामा करिब १ महिनाअघि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । फरार रहेका जयकृष्ण र उनका बाबु कामेश्वरविरुद्ध पनि यसअघि मुद्दा चलेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भनिएका शिवकुमार र पक्राउ परेका पिन्टुविरुद्ध समेत यसअघि मुद्दा चलेको पाइएको जानकारी प्रहरीले दिएको छ । एसपी तिम्सिना पक्राउ परेका, घाइते भएका र फरार रहेकाहरु सीमा क्षेत्रमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएको बताउँछन् ।
‘सबै आपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन् । कुनै न कुनै अपराधमा जोडिएका छन् । प्रत्येकविरुद्ध विगतमा २ वटाभन्दा बढी मुद्दा चलेको रहेछ । भारतमा समेत प्रहरीको खोजी सूचीमा रहेको पायौं,’ उनले भने ।
देवानगन्ज भारतसँग सीमा जोडिएको पालिका हो । घटनास्थलबाट भारत करिब ४ किलोमिटर टाढा मात्रै रहेको स्थानीय बताउँछन् ।
देवानगन्ज गोली काण्ड : भिडन्तमा उत्रिए तस्कर, नजिकैको प्रहरी बेखबर

























