
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सकसँग वार्ता सुरु भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग वार्ता जारी छ ।
चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावललगायत सहभागी भएका छन् । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सक संघको आह्वानमा आन्दोलनमा उत्रिएका उनीहरुले आज (बिहीबार) माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । माग पूरा नभए शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी चिकित्सकको छ ।
निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको माघ २५ गते बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो ।
तर, निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेपछि आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी चिकित्सकले दिएका छन् ।

























