
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरुलाई निर्देशन दिएका छन् ।
नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा भएको वार्तापछि मन्त्री पौडेलले आज (बिहीबार) यस्तो निर्देशन दिएका हुन् । गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकको समान सुविधा मासिक ४८ हजार ७ सय रुपैयाँ कायम गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । निजी मेडिकल कलेजहरुले आयोगको उक्त निर्णय कार्यान्वयन नगरेपछि चिकित्सक संघको अगुवाइमा आवासीय चिकित्सकहरु २९ दिनदेखि आन्दोलनरत छन् ।
आज पनि पनि चिकित्सकहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगराउने निजी मेडिकल कलेज कलेजहरुलाई मन्त्रालय र सरकारबाट हुने सहयोग नगरिने समेत बताए ।

























