
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लगानी हुने वातावरण सिर्जना गर्न कानुन संशोधनको तयारी गरेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले विराटनगरमा आयोजना गरेको कोसी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती विषयक अन्तर संवादमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनबाट प्रदेशमा लगानी हुने वातावरण सिर्जना हुने बताए ।
उनले लगानी सम्मेलनलाई ध्यानमा राखेर प्रदेश सरकारले ७ वटा कानुन संशोधनको तयारी गरेको प्रस्ट्याए ।
देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘उद्योगी व्यवसायीको लगानीको संरक्षणका लागि कोसी प्रदेश सरकार तयार छ । कोसी प्रदेशले गर्न लागेको लगानी सम्मेलन प्रदेश संरचनाले गरेको पहिलो लगानी सम्मेलन हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी गर्ने वातावरण निर्माणमा पार्ने छ ।’
सरकारको नीति र कानुनको परिधिभित्र पाथीभरामा निर्माण सुरु भएको केबलकार परियोजनालाई विरोध र अवरोध गर्नु राम्रो नभएको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म आर्थिक विकास सम्भव नहुने बताए । उनले निजी क्षेत्रलाई राज्यले प्रोत्साहित गरे मात्रै लगानी भित्रने, उद्योग धन्दा, व्यापार, व्यवसाय फस्टाउने र रोजगारी सिर्जना हुने बताए ।
पाथीभरा केबलकारको विवादलाई वार्ता र छलफलबाट समाधान खोज्नुपर्ने बताउँदै, अध्यक्ष ढकालले भने, ‘धर्म, संस्कृति, पहिचान नमासिने गरी केबलकार निर्माण गर्न तयार रहेको छ । केबलकार निर्माणका लागि त्यहाँको धर्म, संस्कृति, जातीय पहिचानको संरक्षणका लागि कम्पनीले गर्नुपर्ने हरेक किसिमको काम गर्न तयार रहेको छ ।’
उनले स्थानीयको माग पूरा गर्न केबलकार निर्माण कम्पनी तयार रहेकाले त्यसका लागि वार्ता र छलफल गर्न आफू तयार रहेको स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्र प्रतिबद्ध रहेको बताए ।
उनले कोसी प्रदेशका लगानीका थुप्रै सम्भावनाहरू रहेका कारण प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रस्ट पारे ।
कार्यक्रममा विज्ञ भेषराज पौडेलले कोसी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

























