
चितवन । अण्डाको मूल्य बढ्न थालेको छ । गत वर्ष प्रतिक्रेट (३० वटा)को पाँच सय २५ रुपैया पुगेको थियो । उत्पादन बढेपछि अण्डाको मूल्य घटेर तीन सय ५० मा झरेको थियो । पछिल्लो समय बढेर चार सय ५० पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’को चार सय ५० रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य तीन सय ५० मा झरेको थियो । सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए ।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी तीन हजार १४०, ठूलो अण्डा तीन हजार र मझौलाको दुई हजार ६५० कायम गरिएको छ । मूल्य बढेपछि किसानले राहत महसुस गरेका छन् ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अण्डाको मूल्य बढेपछि किसानलाई राहत भएको उनले बताए ।
नेपालमा हाल दैनिक ३० लाख वटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।

























