
विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो मनमोहन स्मृति (एमएम) कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा सोमबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई हराउँदै उपाधि नजिक पुगेको हो ।
आर्मी यसअघिको २ पटकको विजेता हो । आर्मीले अर्को विभागीय टोली एपीएफ र बागमतीलाई पराजित गर्दै फाइनल यात्रा तय गर्यो । आर्मीको ४ अंक, एपीएफको २ अंक र बागमती अंकविहीन बन्यो ।
समूह ‘ए’ अन्तर्गतको अन्तिम लिग खेलमा आर्मीले बागमतीलाई ५ विकेटले हरायो । वर्षाका कारण ५० ओभरको खेललाई घटाएर २६ ओभर खेलाइएको थियो ।
आर्मीले टस जितेर फिल्डिङ गर्दै बागमतीलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ थालेको बागमतीले २४ ओभर ३ बलमा अलआउट हुँदै ९६ रनमै समेटियो ।
सचिन लेखकले ३४ रन, प्रतीक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाए । बलिङमा आर्मीका नरेन साउदले ५ विकेट र दुर्गेश गुप्ताले २ विकेट लिए ।
आर्मीले पाएको ९७ रनको विजयी लक्ष्य १७ ओभर ३ बल खेल्दै ५ विकेटको क्षतिमा पूरा गर्यो । निश्चल क्षेत्रीले ४६ रन, हिमांशु दत्तले १८ रन बनाए ।
बलिङमा बागमतीका दयानन्द मण्डलले २ विकेट, तिलकराज भण्डारी र आदिल खानले १–१ विकेट लिए । खेलको प्लेयर अफ म्याच आर्मीका नरेन साउदले ४ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘बी’ पहिलो खेल कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ ।



















