४५४ मेगावटको किमाथांका अर्धजलाशय आयोजनाको सम्झौता

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार १९:३९

काठमाडौं । ४५४ मेगावटको किमाथांका अर्धजलाशय आयोजनाको विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ ।

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच सोमबार विद्युत् जडान सम्झौता भएको हो । यो आयोजना संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमानजिक पर्छ ।

सम्झौताले आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्ने बाटो खुलेको विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले जानकारी दिए ।

आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत् प्राधिकरणको चार सय केभी हाइटार सबस्टेसनमा जोडिनेछ । अब आयोजना बनाउन लगानी जुटाउने काम अघि बढ्नेछ ।
लगानी जुटाउने विषयमा छलफल भइरहेको शाहीको भनाइ छ । आयोजनाको अनुमानित लागत ९३ अर्ब ८० करोड रुपैयाँ छ ।

भोटखोलाको वडा नम्बर २ स्थित छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ । बाँध बनेपछि सो क्षेत्रमा १०३ लाख घनमिटरको जलाशय बन्ने छ । भोटखोला गाउँपालिका वडा नम्बर २ मा ५०० मिटर तल विद्युतगृह निर्माण हुनेछ ।

आयोजनामा पानीको बहाव १४३ घनमिटर प्रतिसेकेन्ड ३७९ मिटर अग्लो हेडबाट खसालेर वार्षिक दुई अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको जानकारी कम्पनीले दिएको छ ।

सुक्खायाममा आयोजनाबाट एक अर्ब पाँच करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ । यस्तै, बर्खामा एक अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुनेछ । बिजुली उत्पादनपछि सो पानीलाई पुनः अरुणमा छाडिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.