
विराटनगर । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै कोशी प्रदेश विराटनगरमा जारी तेस्रो मनमोहन स्मृति क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले पुलिसलाई ३७ रनले पराजित गरेको हो ।
कोशीले जितसँगै २ अंक बटुलेको छ । यसअघि समूह ‘ए’ को सबै लिग चरणको खेल सकिएसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगी सकेको छ । आर्मी पहिलो र दोस्रो संस्करण विजेतासमेत हो ।
पुलिसले टस जितेर फिल्डिङ रोज्दै कोशीलाई ब्याटिङको अवसर दिएको थियो । पहिलो ब्याटिङको मौका पाएको कोशीले खेलमा २९ ओभर ३ बलमा अलआउट हुँदै ९३ रन मात्रै बनाउन सफल भयो । रूपक बरालले २१ रन, मिनास थापा र सुमन गहतराजले समान १५–१५ रन बनाए ।
बलिङमा पुलिसका सुनिल दौल्यालले ५ विकेट तथा विपिन खत्री र चित्र विष्टले २–२ विकेट लिए ।
कोशीले प्रस्तुत गरेको ९४ रनको चुनौती पछ्याउने क्रममा पुलिसले २४ ओभर ५ बलमा अलआउट हुँदै ५६ रनमै समेटियो । पुलिसका कुनै पनि ब्याटर चल्न नसक्दा दोहोरो अंकसम्म बनाउन सकेनन् ।
बलिङमा कोशीका प्रेम कामतले ५ विकेट र प्रकाश कार्कीले ३ विकट लिए । खेलको प्लेयर अफ द म्याच कोशीका प्रेम कामतले ४ हजार रुपैयाँ प्राप्त गरे ।
समूह ‘बी’ को दोस्रो खेल बुधबार कोशी प्रदेश र भारतको आसाम क्लबबीच हुनेछ ।



















