उदयपुर मालपोतमा ११ करोड राजश्व असुली 

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १४:५६

विराटनगर । मालपोत कार्यालय उदयपुरले चालु आर्थिक वर्षको ९ महिनामा ११ करोड बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले विभिन्न शीर्षकमा यस आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ११ करोड ७२ लाख ८४ हजार १ सय २९ रुपैयाँ राजश्व संकलन गरेको प्रमुख मालपोत अधिकृत डुविन्द्रप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार कार्यालयले घर जग्गा रजिस्ट्रेसन शुल्क, लाभ कर, सेवा, रोक्का, फुकुवा तथा अन्य शुल्क शीर्षकमा राजश्व उठाउने गरेको छ ।

चैतसम्ममा घर जग्गा रजिस्ट्रेसन, रोक्का र फुकुवा बापत ९ करोड २२ लाख ३६ हजार ९ सय १ रुपैयाँ, लाभ करबाट २ करोड ४९ लाख १३ हजार ३ सय ३ रुपैयाँ र अन्य शीर्षकबाट १ लाख ३३ हजार ९ सय २५ रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्ष २०८० र ८१ मा १६ करोड ७० लाख ४९ हजार ३ सय २३ रुपैयाँ राजश्व संकलन भएको थियो । जसमा घर जग्गा रजिस्ट्रेसन, रोक्का र फुकुवा बापत १२ करोड ३२ लाख ३४ हजार ३ सय ५७ रुपैयाँ उठेको थियो भने लाभ करबाट ४ करोड ३८ लाख १४ हजार ९ सय ६६ रुपैयाँ उठेको अधिकृत बरालले बताए ।

मालपोत कार्यालयमा जम्मा भएको राजश्वमध्ये लाभ करको संघीय सरकारलाई जान्छ भने अन्य शीर्षकको राजश्वमध्ये स्थानीय तहलाई ६० र प्रदेशलाई ४० प्रतिशत बाँडफाँड हुने गरेको छ ।

गत वर्षभन्दा यस वर्ष करिब ४ करोड रुपैयाँ राजश्व कम उठेको मालपोत कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.