
विराटनगर । घरेलु टोलीलाई कोशी प्रदेशलाई पाहुना टोली भारतको आसाम क्रिकेट क्लबले पराजित गरेको छ ।
विराटनगरमा जारी ‘तेस्रो मनमोहन स्मृति क्रिकेट’ प्रतियोगितामा आसामले कोशीलाई ९७ रनको फराकिलो स्कोर हराउँदै विजयी भएको हो । जितसँगै समूह ‘बी’को शीर्ष स्थानमा आसाम रहेको छ । नेट रन रेटका आधारमा आसाम शीर्ष स्थानमा रहेको हो ।
आसामले १ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ । कोशी २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंक बनाएको छ । दुवै टोलीमध्ये आसाम नेट रन रेटका आधारमा अगाडि रहेको हो ।
विभागीय टोली नेपाल पुलिस क्लब १ खेलमा हार्दै अंकविहीन छ । फाइनल पुग्न बिहीबार आसामले पुलिसलाई जित्नै पर्ने हुन्छ । पुलिससँग आसाम पराजित भए ३ टोलीको नेट रन रेटका आधारमा एउटा टोली फाइनलमा पुग्ने छ ।
गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा बुधबार भएको खेलमा टस जितेर ब्याटिङ थालेको आसामले खेलमा ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९ रनको योगफल खडा गरेको थियो ।
आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ७८ रन, अरुण सोनारले ५१ रन, केभिन सञ्जीव क्रिस्टोफरले १५ रन र अमित सिंहले १२ रन बनाए । बलिङमा कोशीका प्रेम कामतले ४ विकेट, विपिनकुमार महतो र भूपाल लुइँटेलले २–२ विकेट लिए ।
जवाफमा २ सय १० रनको लक्ष्य पाएको कोशीले ३७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १२ रनमै समेटियो ।
विपिनकुमार महतो र यस भट्टराईले १५–१५ रन बनाए भने चिराग साहले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाएनन् । बलिङमा आसामका टपनकुमार शर्मा र गोकुल शर्माले ३–३ विकेट दिए ।



















