
विराटनगर । कोशी प्रदेशका कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्ने उपयुक्त समय भएको कृषि र पर्यटन क्षेत्रका विज्ञहरूले बताएका छन् । विराटनगरमा जारी लगानी सम्मेलनको प्रदेशको संमृद्धिमा पर्यटन र कृषि विषयक प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले लगानीका लागि उपयुक्त समय आएको बताए ।
पर्यटनको सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा पर्यटकको ट्रेन फेरिएको बताए । पहिला पहिला सुुबिधायुक्त जीवन जिउनका लागि मानिसहरू घुमिफिर गर्ने गर्थे जोशीले भने, ‘अहिले आएर नभोगेको जीवन जिउन पाइने गन्तव्यहरू खोज्दै पर्यटकहरू हिँडिरहेका छन् । प्राकृतिक सौन्दर्ययता, एड्भेन्चर विविधताले गर्दा पर्यटकका लागि नेपाल गन्तव्य हुन सक्छ ।’
जोशीले पर्यटन व्यवसायमा पनि प्रविधिको प्रवेश भएकाले प्रविधि मार्फत नेपालका पर्यटकीय गन्तव्यको प्रचार प्रसार भइरहेको बताए । उनले नेपालमा पर्यटकको संख्या बढ्ने दाबी गरे । ‘अबको गन्तव्य नेपाल जस्ता मुलुकहरू हुन् । त्यसैले नेपालको पर्यटन क्षेत्रमा लगानी गरे प्रतिफल हासिल हुन्छ,’ उनले भने ।
कृषि क्षेत्रका विज्ञ डा तिलचन्द्र भट्टराईले कोशी प्रदेशका रैथाने बालीहरूको व्यवसायीक र आधुनिकीकरणमा लगानी गर्ने उपयुक्त समय भएको बताए । उनले भने, ‘हाम्रा आफ्ना चिजहरूको हामीले प्रवर्धन गर्न सकेका छैनौ । प्रवर्धनका लागि ठुलो लगानीको खाँचो छ ।’
भट्टराईले कोदो फापर अलैँची, अदुवा, चिया जस्ता क्षेत्रमा ठुलो लगानीको खाँचो रहेको बताए । लगानी बिना प्रतिफल हुन सक्दैन, यसका लागि सरकारले नीति र कानुनहरू समेत लगानी मैत्री बनाउनु पर्नेमा उनको जोड थियो ।
प्यानलिष्टका रूपमा सहभागी उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानी मैत्री वातावरण बनाउनका लागि विद्यामान नीति नियमहरूमा परिमार्जन गर्नु पर्ने बताए । उनले झन्झटिलो प्रक्रियाका कारण लगानीकर्ताहरूलाई फाइदा नहुने भएकाले लगानी कर्ताहरू आकर्षित खालको कानुन बनाउन जोड दिए ।
‘एउटा उद्योगको दर्ता गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोट निकाल्नै १० महिना कुर्न पर्छ । यसले गर्दा ३ वर्षमा सम्पन्न गर्ने प्रोजेक्ट सम्पन्न गर्न ६ वर्ष लाग्छ त्यतिन्जेलमा लगानीकर्तालाई व्याजले मारिसकेको हुन्छ । तसर्थ यस कुरामा पनि ध्यान दिनुपर्छ । अहिले वातावरण बनेको छ हामी खुसी नै छौँ,’ उनले भने ।
कृषि उद्यमी शारदा बाँस्कोटाले तीन तहका सरकारी नीतिका कारण कृषि क्षेत्रमा लगानी गर्न समस्या भएको बताइन् । उनले यसका लागि सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिइन् ।

























