
इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्ष अवलोकनका लागि पुगेका पर्यटकबाट २५ लाख रूपैयाँ बढी राजस्व संकलन भएको छ ।
कोशी टप्पु अर्ना र चराका लागि प्रसिद्ध छ । आरक्ष घुम्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकबाट २५ लाख १९ हजार १ सय ६६ रूपैयाँ रजस्व संकलन भएको अरक्षका संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार विगतको तुलनामा चालु आर्थिक वर्षको हालसम्ममा आन्तरिक तथा बाह्य पर्यटकको संख्यासमेत बढेको छ । गत साउनदेखि चैत मसान्तसम्म ८ हजार ४ सय १५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र २ सय १० जना अन्य मुलुकका नागरिकले आरक्षको अवलोकन भ्रमण गरेका छन् ।
आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, हुर्कँदै गरेका गैँडा, हात्ती, साइबेरियालगायतका देशबाट आउने पाहुना चरा एवं विभिन्न जंगली जनावर हेर्न तथा अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । आरक्षमा ५ सय २० प्रजातिका चरा पाइने यादवले बताए ।
कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको छ । विदेशी पर्यटक भित्राउने योजनासहित सरकारले पर्यटन वर्ष घोषणा गरेको हो ।
भारतीय पर्यटकलाई सहजताका लागि उनीहरु चढेको सवारीसाधनमा स्टिकरसमेत टाँस्ने अभियान चलाइएको छ । पर्यटकलाई चेकजाँचका नाममा दुःख एवं हैरानी नहोस् र पर्यटक सवार गाडी सहजै चिन्न सकियोस् भनेर सवारीसाधनमा स्टिकर लगाउने अभियान चलाइएको हो ।

























