
झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१/८२ को नौ महिनामा रु. ८२ करोड १६ लाख ४८ हजार ४ सय २ राजस्व संकलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार १ सय १६ राजस्व संकलन गरेको हो ।
चालु आवको चैत महिनासम्म सवारी साधनको कर संकलन बापत रु. ६९ करोड ६ लाख २२ हजार ५ सय ४२, यातायात क्षेत्रको आम्दानी बापत रु. ९६ लाख ६० हजार ६ सय ६७, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत रु. १२ करोड १२ लाख ८९ हजार ६ सय ५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
चालु आवको नौ महिनामा जिल्लामा ९ हजार ९ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख ६ हजार ८ सय ८४ सवारी साधन दर्ता रहेका थिए ।
कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल ३ हजार २ सय ३६ दर्ता भएका छन् । यसैगरी ई–रिक्सा २ हजार ५ सय ४९, स्कुटर २ हजार ३ सय ४५, ई–स्कुटर ५ सय ७९, कार १ सय ८०, ट्र्याक्टर १ सय ७६, जिप १ सय ६८, बस १ सय ८, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स ४ वटा नयाँ दर्ता भएका छन् ।

























