
विराटनगर । सुनसरीको दुहबीमा रहेको एसियन थाई फुड्सले दोस्रो युनिट कपिलवस्तुको तौलिहवामा बिस्तार गरेको छ ।
एसियन थाई फुड्सले दुहबीबाट उत्पादन गर्दै आएको रमपम लगायतका चाउचाउ कपिलवस्तुबाट पनि उत्पादन सुरु गरेको छ ।
कपिलवस्तु नगरपालिका –६ गोबरीमा स्थापना गरिएको एसियन थाई फुड्सको दोस्रो युनिटबाट बुधबार (आज) देखि उत्पादन सुरु गरेको हो ।
२६ वर्षदेखि उत्पादन गर्दै आएको चाउचाउ उद्योग बिस्तार गरेको बताउँदै, एसियन थाई फुड्सका निर्देशक महेश जाजुले भने, ‘सुनसरीपछि कपिलवस्तुमा नयाँ युनिट बनाएर आजदेखि चाउचाउको व्यावसायिक उत्पादन सुरु भएको छ । पूर्वबाट सुदूरपश्चिमलगायत भारतका बजारमा सुनसरीको उत्पादन पठाउँदा समय र ढुवानी खर्च बढी लाग्ने भएको हुँदा कपिलवस्तुमै नयाँ युनिट स्थापन गरेको हो । अब यहाँबाट मध्य, सुदूर र भारत निर्यातमा सहज र खर्चमा कमी आउने छ ।’
केही वर्षदेखि उद्योग बिस्तार गर्ने योजना बमोजिम अहिले कपिलवस्तुमा ६० करोड बढीको लगानीमा २ बिघा ८ कट्ठा क्षेत्रफलमा उद्योग स्थापना भएको उनले बताए ।
उद्योगले रमपम, टुपिएम, प्रीतिलगायतका ब्रान्डमा चाउचाउको पहिलो चरणमा उत्पादन सुरु गरेको छ भने दोस्रो चरणमा स्न्याक्स उत्पादन गर्ने जनाएको छ ।

उद्योगले उत्पादन गरेको प्रतिदिन साढे ४ लाख प्याकेट (१५ हजार कार्टुन) चाउचाउ स्वदेशका साथै विदेशमा निर्यात हुने बताउँदै, निर्देशक जाजुले भने, ‘सुरुवातमा एक सिफ्ट सञ्चालनमा रहेको उद्योग १ महिनाभित्रै ३ सिफ्टमा सञ्चालन हुनेछ । यसका साथै उद्योगको तेस्रो युनिट खोल्ने योजनामा रहेको र त्यसका लागि आवश्यक जमिन खोजी गरिरहेका छौं । चाउचाउका साथै चिप्स, चिजबल, स्पाइसी मसला लगायतको उत्पादन गर्ने समेत लक्ष्य रहेको छ ।’
उद्योगले आफ्ना उत्पादन भारत, युएई, ओमन, कतार, साउदी अरब, मलेसिया, अमेरिका, अस्ट्रेलिया, इटाली लगायतका मुलुकमा निर्यात गर्दै आएको छ ।

























