प्रदेशमा बेरुजु, कुनको कति ?

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार १७:१४

विराटनगर । मुलुकका ७ वटा प्रदेश सरकारको बेरुजु रकम ५ अर्ब २ करोड १९ लाख पुगेको छ ।

विभिन्न प्रदेशका १ हजार २ सय ९० वटा कार्यालयमा गरिएको ३ खर्ब ६२ अर्ब ९१ करोड ९० लाख रूपैयाँको लेखा परीक्षणबाट ५ अर्ब बढीको बेरुजु निस्किएको हो । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–०८१ मा प्रदेश सरकारहरूको कुल बेरुजु १.३८ प्रतिशत देखिएको छ ।

सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशमा रहेको छ । कार्यालयको ६२ औं प्रतिवेदन अनुसार मधेशमा कुल बेरुजु २.०७ प्रतिशत छ । सबैभन्दा कम बेरुजु बागमतीमा रहेको छ । बागमतीमा १.०३ प्रतिशत बेजुरु देखिएको हो ।

मधेशमा रहेका १ सय ५९ सरकारी कार्यालयको ५६ अर्ब ६ करोड ३० लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो । त्योमध्ये १ अर्ब १६ करोड ३८ लाख कुल बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बागमतीमा २ सय १४ कार्यालयको ८२ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ लेखा परीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजु देखिएको छ । कोशीमा २ सय १ कार्यालयको ५१ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ८१ करोड ८१ लाख बेरुजु निस्किएको छ ।

कोशीको बेरुजु प्रतिशत १.६९ रहेको छ । सुदूरपश्चिममा १ सय ६२ कार्यालयको ३५ अर्ब ६२ करोड ५९ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो । उक्त लेखा परीक्षणबाट ५० करोड ६ लाख बेरुजु देखिएको छ । अर्थात् सुदूरपश्चिममा १.४१ प्रतिशत बेरुजु रहेको हो ।

महालेखाको प्रतिवेदन अनुसार लुम्बिनी र कर्णालीमा १.२२ प्रतिशतका दरले बेरुजु देखिएको छ । लुम्बिनीमा २ सय ११ कार्यालयको ५४ अर्ब १६ करोड ४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा ६० करोड ९४ लाख रुपैयाँ बेरुजु निस्किएको छ ।

कर्णालीमा १ सय ४० कार्यालयको ३७ अर्ब ५८ करोड ६६ लाखको लेखा परीक्षण गरिएको थियो । जसमा ४५ करोड ९४ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

गण्डकीमा २ सय ३ कार्यालयको ४५ अर्ब २४ करोड २४ लाख रुपैयाँ लेखा परीक्षण भएको छ । उक्त लेखा परीक्षणबाट १.१५ प्रतिशत अर्थात् ४५ करोड बेरुजु निस्किएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.