कहिले पाउने किसानले दुधको बक्यौता रकम ?

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार ११:०३

काठमाडौं । दुध उत्पादक किसानले ६ महिनायता भुक्तानी पाउन सकेका छैनन् । नियमित रुपमा दुध दिए पनि डेरी उद्योगहरुबाट उनीहरुले ५ अर्ब रुपैयाँभन्दा बढी पाउन बाँकी रहेको जनाइएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अनुसार निजी डेरीबाट साढे ३ अर्ब र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट डेढ अर्ब रुपैयाँ किसानले पाउन बाँकी रहेको छ ।

संघका महासचिव राम आचार्यका अनुसार सुक्खा सिजन सुरु हुँदा किसानको बक्यौता अझै बाँकी छ । ४ देखि ६ महिनाको ५ अर्बभन्दा बढी बक्यौता रहेको आचार्यले बताए ।

किसानले पैसा नपाएपछि केन्द्रीय संघमा आवद्ध जिल्लास्थित संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको उनले जनाए ।

वैशाख १ मा बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघले जिल्ला प्रशासन कार्यालय बारामा बुझाएको ज्ञापनमा मिल्क होलिडेको समस्यासँगै किसानले ६ महिनादेखि पैसा नपाएको उल्लेख छ ।

दुग्ध क्षेत्रमा करिब ६ लाख किसान प्रत्यक्ष संलग्न छन् । नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले करिब ४ लाख किसानबाट दुध संकलन गर्छ ।

डीडीसीले करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध संकलन गर्छ । १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छ । निजी डेरीले मुनाफा गर्न बक्यौता रोक्नु सामान्य रहे पनि सरकारी डेरीले पनि किसान मार्ने काम गरेको संघले जनाएको छ ।

किसानलाई भुक्तानी गर्न डीडीसीले सरकारसँग पटकपटक सहुलियत ऋण पनि लिने गरेको छ । तर बक्यौता उस्तै छ । किसानलाई तिर्नुपर्ने बक्यौता घटेको छैन । डीडीसीभित्र हुने अनियमितता आदिले समस्या पारेको बताइने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.