
विराटनगर । नेपाली युवा उद्यमी मञ्च , विराटनगर च्याप्टरको आयोजनामा एकदिवसीय नेपाल–भारत युवा उद्यमी सम्मेलन हुने भएको छ ।
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आज (बुधबार) पत्रकार सम्मलेनको आयोजना गर्दै जेठ १५ गते सम्मेलन हुने जानकारी दिइएको हो । झापा, मेचीनगरको होटल मेची क्राउनमा सम्मेलन हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा नेपाल–भारतका युवा उद्यमीहरुको सहभागिता रहने मञ्चका अध्यक्ष सुभम भट्टराईले जनकारी दिए । उनका अनुसार कार्यक्रमको मुख्य उदेश्य दुई देशका युवा उद्यमीहरुबीच अनुभव र सीप आदनप्रदान गर्ने, व्यवसायिक नेटवर्किङ र दिर्घकालीन सहकार्यको सम्भावनालाई मूर्तरुप दिने छ ।
सम्मेलनमा नेटवर्किङ कार्यक्रम, विभिन्न कार्यशाला तथा सीमापार उद्यमशीलता, नीति निर्माणमा युवाको आवाज लगायतका विषयमा छलफल हुने अध्यक्ष भट्टराईले जानकारी दिए ।
सम्मेलनले सीमा क्षेत्रमा रहेका साझा स्रोतको सदुपयोग, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा सेवा क्षेत्रमा आधारित स्टार्टअप प्रवर्द्धन गर्न तथा प्रदेशस्तरीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास रहेको उनको भनाइ छ ।
‘सम्मेलनले नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, नीति निर्माता, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुलाई एउटै मञ्चमा ल्याउने र भविष्यका लागि सहकार्यको ढोका खोल्ने सतुको काम गर्ने अपेक्षा छ,’ उनले भने, ‘यो सम्मेलनले नेपाल–भारतबीचको युवा उद्यमशीलता सम्बन्धलाई अझ सशक्त बनाउँदै, दिगो विकासका दिशामा एक नयाँ कदम अघि बढाउने विश्वस गरिएको छ ।’
सम्मेलनमा ५ सयभन्दा बढी सदस्य भेला हुने जनाइएको छ ।

























