
विराटनगर । सहकारी ठगी मुद्दामा जिल्ला अदालत मोरङले तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई दोषी ठहर गरेको छ ।
न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले आइतबार शर्मालाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि भने भोलि (सोमबार) पेसी तोकिने छ ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार तुलसी सहकारी संस्थाकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवास पनि दोषी ठहर भएका छन् । उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईले भने सफाइ पाएका छन् ।
फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखिएको सूचना अधिकारी बुढाथोकीले बताए । बुढाथोकीका अनुसार उनीहरु अदालतमा उपस्थित भएपछि मुल्तबी जगाएर मुद्दाको प्रक्रिया सुरु गरिने छ ।
अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो । अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए ।
उपाध्यक्ष गौतम र सञ्चालक भट्टराई धरौटीमा छुटेका थिए । सहकारी सचिव न्यौपाने अध्यक्ष शर्माकी पूर्वपत्नी हुन् । सहकारी संकटमा परेपछि उनीहरुले सम्बन्धविच्छेद गरेका थिए ।
२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको स्वामित्व २०७२ सालमा केदारनाथ शर्माले खरिद गरेका थिए । विराटनगरको विराट नर्सिङ होम चोकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय खोलेका थिए । मोरङको लेटाङमा शाखा कार्यालय खोल्ने तयारी थियो ।
मुख्य कार्यालय विराटनगर र ३ वटा शाखा कार्यालयबाट २१ हजार १ सय ५४ जना बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत संकलन गरी सञ्चालक फरार भएको अनुसन्धानबाट पत्ता लागेको थियो । सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १ सय ७८ वटा निक्षेप खाता छन् ।
दमक शाखामा ६ हजार ९ सय ६८, गाईघाट शाखामा ३ हजार ३ सय ३४ र गोलबजार शाखामा ६ सय ७४ सहित २१ हजार १ सय ५४ वटा खाता रहेका हुन् । तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखाले ६० करोड ७२ लाख ९३ हजार, गाईघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाले ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेका थिए ।
सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए । सर्वसाधारणको १ अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३ सय ७८ रुपैयाँ अध्यक्ष शर्माले ६ वटा कम्पनीलाई ऋण लगानी गरेको अुनसन्धानबाट पत्ता लागेको थियो ।
सहकारीको कुल पुँजी १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ छ । जसमध्ये १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७ सय ५१ रुपैयाँ ऋण लगानी छ । १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ खर्चको हिसाब अनुसन्धानका क्रममा भेटिएको थिएन ।

























