
काठमाडौं । किसानले दुग्ध सहकारी, निजी डेरी उद्योग तथा दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको पैसा लामो समयदेखि पाएका छैनन् ।
कृषि मन्त्रालयका अनुसार डेरी उद्योग, डेरी एसोसिएसन र डीसीसी लगायत निजी उद्योग गरी झन्डै ४ अर्ब किसानलाई भुक्तानी दिन बाँकी छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर देशभरि भुक्तानी बाँकी रहेका किसानहरूको विवरण संकलन भइरहेको बताउँछन् ।
‘कुन डेरी, कुन उद्योगले कति तिर्न बाँकी छ, त्यसको विवरण संकलन भइरहेको छ । मन्त्रालयसँग छलफल गरेर सार्वजनिक गर्छौं,’ कुँवरले भने ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल किसानको भुक्तानीमा देखिएको समस्या विश्वव्यापी महामारी र पछिल्लो आर्थिक मन्दीको असर भएको बताउँछन् ।
उनले केही डेरी उद्योगहरूले बाध्यतावस भुक्तानी दिन नसकेको तर्क गरे भने केहीले जानाजानी बेवास्ता गरेको स्वीकार गरे।
दुग्ध पदार्थ निर्यातको सम्भावनाबारे पनि चर्चा गर्दै उनले सरकारको ध्यान त्यता केन्द्रित गरिनुपर्नेमा जोड दिए । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानले बेचेको दूधको पैसा अझै पाउन नसक्नु दुःखद भएको बताए ।
उनले सरकारसँग अपिल गर्दै कुनकुन उद्योगले कति भुक्तानी दिन बाँकी छ, विवरण सार्वजनिक गरिनुपर्ने माग गरे । ‘हामी आत्मनिर्भर बन्दै गएका छौं, तर किसान भने अन्योलमा छन्,’ उनले भने । नेपाली बजारमा विदेशबाट आउने दुग्धजन्य वस्तुको आयात बन्द भएपछि स्वदेशी उद्योगलाई अवसर मिलेको भन्दै त्यसको सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले डीडीसी जस्तो सरकारी निकायबाटै किसानको भुक्तानी रोकिएको अवस्थामा सरकारको भूमिकामाथि प्रश्न उठाए । उनले किसानको पाटोलाई केन्द्रमा राखेर दुग्ध नीति बनाउन आग्रह गरे ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दूधको पैसा तिर्न नसक्दा दुःख लागेको बताएका छन् । उनले किसानका समस्या समाधानका लागि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए ।

























