
विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दामा दोषी ठहर भएकाको सजाय निर्धारणका लागि सोमबार अर्को पेसी तोकिएको छ ।
जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथा शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई आइतबार दोषी ठहर गरेको थियो । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएकाको सजाय निर्धारणका लागि यही जेठ २२ गते बिहीबारलाई पेसी तोकिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार न्यायाधीश शर्माकै इजलासले सजाय तोक्ने छ ।
३ वर्षभन्दा माथि कैद सजायको माग दाबी गरिएको मुद्दामा कसुर कायम भएको १ महिनाभित्रमा सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । अदालतले सहकारीको रकम हिनामिनासँग जोडिएको मुद्दामा ३ जनालाई कसुरदार कायम गरिसकेको छ ।
अदालतले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई भने सफाइ दिएको थियो । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखिएको छ ।
सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो । अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए ।
उपाध्यक्ष गौतम र सञ्चालक भट्टराई धरौटीमा छुटेका थिए । सहकारी सचिव न्यौपाने अध्यक्ष शर्माकी पूर्वपत्नी हुन् । सहकारी संकटमा परेपछि उनीहरुले सम्बन्धविच्छेद गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।

























