राम्रो चलिरहेको पथरीशनिश्चरेको आरती सहकारीमा ‘बदमासी’

Share this
625shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १७:५१

विराटनगर । मोरङको पथरीशनिश्चरेस्थित चर्चित सहकारी संस्था आरती बहुउद्देश्यीय सहकारी संस्था गम्भीर आरोपको घेरामा परेको छ ।

यो सयौं सदस्यको पसिना, विश्वास र पूँजीको बलमा स्थापित भएर राम्रोसँग चलिरहेको संस्था हो । तर संस्था एकाएक विवादमा आएपछि अनेक खालका प्रश्नहरु उठिरहेका छन् ।

एक इनर्जी कम्पनीसँग ‘डिलिङ’ गर्ने निर्णय र त्यसको फाइदा कम देखिएको भन्दै शेयर सदस्यबाटै सहकारीको ‘सेवा र पारदर्शिता’ माथि प्रश्न उठेको हो ।

आरती सहकारीका सञ्चालकले केही महिनाअघि एउटा पेय पदार्थ उत्पादक कम्पनीको एउटा मात्रै उत्पादन सहकारीमार्फत बेच्ने निर्णय गरे । सुन्दा सामान्य लागे पनि यो निर्णय पछाडि रहेको स्वार्थ विस्तारै खुल्न थालेको छ ।

काठमाडौंमा रहेको एग्रो थाइ फुड्स प्रालिले उत्पादन गरेको एक्ट्रिम पेय पदार्थ मात्रैको डिलरसिप लिएर बजारमा पठाउने निर्णय भएको थियो । उक्त कम्पनीको आधिकारिक डिलर पथरीबजारमा केही वर्षअघि वाई बी सप्लायर्सका नाममा थियो ।

एग्रो थाईले उत्पादन गर्ने ७ वटाभन्दा बढी वस्तुमध्ये एक्ट्रिम मात्रैको आरतीले बजारमा लाने सर्तमा डिलरसिप लिएको हो । ती उत्पादन ग्राहकमाझ लोकप्रिय रहेकाले त्यसैको मात्र बजार व्यवस्थापन जिम्मा लिएको सहकारी व्यवस्थापनको दावी छ ।

एग्रो थाइ फुडसबाट उत्पादित इनर्जी ड्रिङस एक्सट्रीमको वजार प्रवर्द्धनको जिम्मा लिएको आरती वहुउद्देश्यीय सहकारी संस्थामा सोही ड्रिङ्सको आधिकारिक डिलरसिप लिइएको विषयमा अहिले शेयर सदस्यमा अन्योल र आशंका देखिएको छ ।

रातारात पथरीमै रहेको एक डिलरबाट ‘एनओसी’ लिएर आरतीले ४ करोड रुपयाँभन्दा बढी रकम एउटै उत्पादनका लागि लगानी गरेपछि शेयर सदस्यमा आशंका बढेको हो । यसमा चलखेल भएको हुन सक्ने उनीहरुको भनाइ छ ।

यसअघि एग्रो थाई फुड्सको आधिकारिक डिलर रहेको वाईबी सप्लायर्सबाट आरतीले ‘नोन अब्जेक्सन लेटर’ मार्फत डिलर लिने कार्य गरेको थियो । डिलर लिएपछि पहिलो पटक १५ हजार कार्टुन एक्सट्रीम इनर्जी ड्रिङस खरिद गरेको थियो ।

त्यसपछि थप १० हजार कार्टुन समेत खरिद गरेको थियो । त्यसवापत संस्थालाई सीमित रकम मात्रै कम्पनीबाट प्राप्त भएको सहकारीका व्यवस्थापक मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘आरतीलाई प्रति कार्टुन ६० रुपयाँ फाइदा हुन्छ, कम्पनीले दिएको मार्जिन त्यति नै हो बजारमा चलेको हल्लाले हामीलाई अप्ठारो पारेको छ ।’

व्यापारका सवै काम गर्ने सर्तमा उक्त इनर्जी ड्रिङसको कारोबार गर्न आरतीको व्यावस्थापनले वाईबी सप्लायर्सलाई नै जिम्मेवारी दिएको छ। उक्त सप्लार्यस आरतीकै व्यवस्थापक मोहन श्रेष्ठ, अध्यक्ष यादवचन्द्र दुलाल र टिका देवानको लगानी छ ।

व्यवस्थापककै लगानी रहेको सप्लायर्सलाई यसको व्यापारको जिम्मेवारी दिनु र कम्पनीबाट प्राप्त हुने २ प्रतिशत छुट वाईबीलाई नै दिने निर्णय सहकारीको कार्यसमितिले गर्नु बदनियतपूर्ण रहेको शेयर सदस्यहरुले आरोप लगाएका छन् ।

शेयर सदस्य समेत रहेका उद्योग वाणिज्य संघ पथरीका पूर्वमहासचिव राजेन्द्र बस्नेतले सहकारीका केही सीमित व्यक्तिले अन्य शेयर सदस्यलाई गुमराहमा राखेर आफ्नो फाइदामा काम गरेको आरोप लगाए ।

अन्य व्यापारीले भने कम्पनीबाट कमिसनबाहेक निश्चित प्रतिशतमा छुट र कम्पनीको स्किम प्राप्त गर्दै आएका छन् । विष्णु चोक सप्लायर्सका राजेन्द्र ढकाल निश्चित रकम भन्ने नै नहुने बताउँदै सहकारीका शेयर सदस्यलाई जति बिक्री गरे पनि सोही रकम मात्र फाइदा हुने समेत नहुने बताउँछन् ।

कम्पनीबाट समय समयमा डिलरलाई स्किम समेत दिने गरिन्छ तर त्यो सहकारीले लुकाएको आरोप ढकालको छ ।

सहकारीका व्यवस्थापक श्रेष्ठले पनि सहकारीमा ढुवानीका लागी गाडी नभएको र कर्मचारी समेत नभएकाले वाईबीसँग साझेदार गरिएको पुष्टि गरे । उनले कार्यसमितिले नै गरेको निर्णय भएको बताए ।

व्यवस्थापक श्रेष्ठका अनुसार सहकारीमा तरलता बढी भएपछि रकम गत साधारण सभावाट अन्य क्षेत्रमा लगानी गर्ने भनी पारित गरिएको र सहकारीले ऋण लगानी गर्न समेत जोखिम रहेको भन्दै व्यापारमा लगानी बढाइएको हो ।

सहकारीले नेपाल सरकारको नियम कानुन अनुसारै व्यापार गरिरहेकाले संस्थाको हित नचाहनेले अफवाह फैलाएको उनको भनाइ छ ।

सहकारीले सुपथ मुल्यको घरायसी खाद्यान्न सामग्री, दुग्ध पदार्थको व्यापार गरिरहेको छ भने पथरीशनिश्चरे– ३मा फलफूल भण्डारणका लागि कोल्ड स्टोर समेत सञ्चालन गरिरहेको छ ।

वैशाख १० गतेबाट उक्त इनर्जी ड्रिङ्सको व्यापार सुरु गरेको र हाल सम्मको समयमा मात्रै खर्च कटाएर ६ लाख संस्थाले कमाएको दाबी व्यवस्थापक श्रेष्ठको छ ।

‘हामीले बचत गर्यौं, उनीहरूले त्यसैमा व्यापार गरे, उनीहरूलाई लाभको बाटो मात्र देखियो’ शेयर सदस्य हेमचन्द्र वास्तोलाले भने । वास्तोला दुर्गा प्रसाईले नेतृत्व गरेको नागरिक बचाउ अभियानका अभियन्ता समेत हुन् । उनका अनुसार सहकारीको पैसामा व्यवस्थापक र अध्यक्ष सहितका केहीले ठूलो चलखेल गरेका छन् ।

वैशाखमा खरिद गरिएको इनर्जी ड्रिङ्स एक महिना नभइ बिक्री भएको थियो । बिक्रीपछि भने आरती सहकारीका सञचालन सदस्य र व्यवस्थापक विवादमा तानिएका छन् ।

अध्यक्ष, र व्यवस्थापकको निजी डिलरसिप भएको सप्लायर्सलाई सहकारीले खरिद गरेको सामग्री व्यवथापनको जिम्मा दिँदा उनीहरूले सहकारीको नाममा सामान बेचेर व्यक्तिगत रुपमा मुनाफा लिने संरचना तयार गरेको आरोप पनि छ ।

शेयर सदस्यहरूलाई यस्तो निर्णयबारे सल्लाह वा जानकारी नदिइएको समेत खुलेको छ । शेयर सदस्य बास्तोलाका अनुसार अहिले राजनैतिक रंगका आधारमा मुछिएका व्याक्तिलाई सफाइ दिने प्रयास भइरहेको छ ।

नेपालको सहकारी ऐन, २०७४ अनुसार, कुनै पनि सहकारी संस्थामा निर्णय पारदर्शी र साझा सहमतिमा गर्नुपर्ने प्रावधान छ । साथै व्यक्तिगत लाभका लागि सहकारीको स्रोत प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

आरतीका व्यवस्थापक र अध्यक्षको प्रत्यक्ष लगानी रहेको वाईबीले मात्रै त्यस्तो व्यापार गर्न पाउने र कमिसन समेत उतै दिने निर्णयलेले अध्यक्ष र व्यवस्थापकको स्वार्थ जोडिएको स्पष्ट देखिएको कतिपयको भनाइ छ ।

एग्रो थाइ फुड्सका बजार व्यवस्थापक घनश्याम रेग्मीका अनुसार पथरीशनिश्चरे क्षेत्रमा वाईबी सप्लायर्सले नै डिलर लिए पनि २०८२ को सुरुवातबाट भने एक्सट्रिम ड्रिङ्सका लागि आरती वहुउद्देश्यीय सहकारीले वाईबी सप्लायर्सबाट ‘नो अव्जेक्सन लेटर’ लिएर डिलरसिप सञ्चालन गरिरहेको छ ।

आरतीमा हाल २ हजार ३ सय ८७ जना शेयर सदस्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.