
विराटनगर । महिला नेतृ शैलजा आचार्यको निष्ठा र त्यागको राजनीति वर्तमान अवस्थामा उत्तिकै सान्दर्भिक रहेकाले त्यसलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिइएको छ ।
आचार्यको स्मृति दिवसको अवसरमा कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृती पोलिटेक्निकद्धारा मोरङमा बिहीबार आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले शैलजा आचार्यको प्रेरणाबाट आफु राजनीतिमा आएको बताए । आचार्यको स्मृतिमा खोलिएको पोलिटेक्निक कारण अहिले गरिब तथा विपन्न समुदायलाई उच्च शिक्षा हासिल गर्न सहज भएको उनले बताए ।
नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले नेपालमा प्रजातन्त्र स्थापनका लागि शैलजा आचार्यले महत्पूर्ण योगदान दिएको बताए । आचार्यले मुलुकको आर्थिक सामाजिक तथा शिक्षा क्षेत्रमा गरेको योगदानलाई बिर्सन नहुने बताए ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डलले आचार्य भिजन भएको नेता भएको बताए । पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले नेपालमा प्रजातन्त्र स्थापनका लागि आचार्यको योगदान महत्वपूर्ण रहेको बताए ।
जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारले शैलजा आचार्यको नाममा स्थापना भएको पोलिटेक्निक लागि पालिकाले सहयोग गरिरहेको बताए । जेहनदार विद्यार्थीलाई छात्रवृत्तिका लागि पालिकाले प्रत्येक वर्ष बजेट छुट्याएको उनले बताए ।
पोलिटेक्निककी अध्यक्ष मिता आचार्य र प्रिन्सिपल सन्तबहादुर अधिकारीले शैलजा आचार्य पोलिटेक्निकले प्राविधिक शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताए ।

























