
काठमाडौं । सुनचाँदी व्यवसायीले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । सुनचाँदीका गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् ।
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय संकटमा परेको उनीहरुको भनाइ छ । उक्त कर फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिको अगुवाईमा काठमाडौँको न्युरोड क्षेत्रमा प्रदर्शन गरिएको हो ।
बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।
सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिका संयोजक वीपेन्द्र रामुदामुले बताए ।

























