सूर्य नेपाल गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ५, बिहीबार २०:००

काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४– २५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले आज ५– अन्डर ६७ को स्कोर गरे।

राहुलले यो सिजनको दोस्रो उपाधि जिते । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।
समग्रमा १९– अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले आज ८– अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे ।

एमेच्योर सद्भाव आचार्य समग्रमा १८– अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए । उनले आज ५– अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए ।

साबिक विजेता सुवास तामाङ समग्रमा १५– अन्डर २ सय ७३ सहित चौथो भए । उनले आज इभन– पार ७२ स्कोर गरे । प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे ।

भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४– अन्डर २ सय ७४ सहित ५ औँ स्थानमा रहे । उनले आज ६– अन्डर ६६ को उत्कृष्ट स्कोर गरे । एमेच्योरतर्फ उनी तेस्रो भए ।

धरानका प्रो नीरज तामाङले आज १– ओभर ७३ स्कोर गरे । समग्रमा १०– अन्डर २ सय ७८ सहित छैटौँ भए । प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे । उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् ।

उनले यो सिजन ३ उपाधि सहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।

दिनेश प्रजापति समग्रमा ९– अन्डर २ सय ७९ को स्कोरमा ७ औँ भए । उनले आज २– अन्डर ७० स्कोर गरे । प्रो तर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे ।

शुक्रबहादुर राई समग्रमा ८– अन्डर २ सय ८० सहित ८ औँ भए । आज ५– अन्डर ६७ स्कोर गरे । प्रो तर्फ ५ औँ भएका उनले नगद ९२ हजार हात पारे ।

समग्रमा ३– अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्त रूपमा ९ औँ स्थान बाँडे । सञ्जयले इभन– पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा आजको खेल सकाए ।

प्रो तर्फ छैटौँ भएका सञ्जयले ८४ हजार प्राप्त गरे । यस्तै, रवि खड्का, धनबहादुर थापा, जयराम श्रेष्ठ र तोरणविक्रम शाही प्रो तर्फ उत्कृष्ट १० मा रहे ।

तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाइनमा बोगी रहित ५– अन्डर ३१ स्कोर गरे । उनले पहिलो, तेस्रो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । ११औँ र १२औँ होलमा पनि १–१ सट बचाउँदा २३– अन्डरमा स्कोर पुर्‍याइसकेका थिए । तर ४–पारको १४ औँ होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५– अन्डर ३१ मा सकाए । यसपछि ११ औँ, १२ औँ, १५ औँ  र १७ औँ होलमा १–१ सट बचाए । १४ औँ होलको बोगीले ब्याक नाइन ३– अन्डर ३३ मा पूरा गरे ।

सद्भावले फ्रन्ट नाइनमा इभन– पार ३६ खेले । तेस्रो होलमा डबल बोगी खेपे । छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले ।

यसपछि १२ औँ होलमा इगलको सफलता प्राप्त गर्दा ११ औँ, १४ औँ र १५ औँ होलको बर्डीले ब्याक नाइन ५– अन्डर ३१ मा सकाए।
विजयी खेलाडीहरूलाई सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

एनपिजिएद्वारा आयोजित ४ दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशिको रहेको थियो । जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कूल ५५ गल्फरले सहभागिता जनाएका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.