
काठमाडौं । एसियाली यूथ टेबल टेनिस च्याम्पियनसिपको २९ औँ संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार उज्बेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ ।
असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३ / ३ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास वासुकला रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।



















