
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आयोजना गरेको मोटरसाइकल ‘स्लो रेस’ मा नीरज गच्छदार प्रथम भएका छन् ।
ट्राफिक सप्ताह मनाउने क्रममा ‘बिस्तारै जाँदा पनि गन्तव्यमा पुग्न सकिन्छ’ भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजना गरेको प्रतियोगितामा धनपालथान –३ का नीरज गच्छदारले १ मिनेट ३१ सेकेन्ड दुरी पार गर्दै प्रथम भएका थिए ।
विराटनगर विमानस्थलको पार्किङ स्थलमा भएको प्रतियोगितामा सुनसरी बर्जु गाउँपालिका –१ का श्रृृजनकुमार रायले १ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै द्वितीय र सोही पालिकाका रामप्रकाश कामतले १ मिनेट २३ सेकेन्डमा दुरी पार गर्दै तृतीय भए ।
उनीहरूले क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँका साथै प्रमाणपत्र प्राप्त गरे ।
विजयी भएकाहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले पुरस्कार प्रदान गरे ।
३५ मिटरको दुरी सबैभन्दा ढिलो समयमा पार गर्नुपर्ने नियम रहेको प्रतियोगितामा मोरङ र सुनसरीका ३६ जना मोटरसाइकल चालकको सहभागिता रहेको थियो ।



















