
विराटनगर । विराटनगरमा जारी चौथो एसईई कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा शाही चिल्ड्रेन, बिकेभिएम, राधाकृष्ण र जनता विजयी भएका छन् ।
पोखरिया युथ केयर एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा इटहरीको शाही चिल्ड्रेन होमले हात्तिमुडाको कर्मवीर माविलाई टाइब्रेकरमा पराजित गरेको छ ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । खेलको प्लेयर अफ द म्याच शाही चिल्ड्रेनका विक्रम भुजेल भए ।
दोस्रो खेलमा विराटनगरको बिकेभिएम स्कुलले मोडन एरा बोर्डिङ स्कुललाई २–१ गोल फरकमा हराएको छ । बिकेभिएका लागि अनुभव थापा र आयुष चौधरीले गोल गर्दै टोलीलाई विजयी बनाए भने एक मात्र सान्त्वना गोल मोडन एराका युनिश कार्कीले गोल गरे । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका अनुभव थापा भए ।
त्यस्तै, तेस्रो खेलमा विराटनगरको राधाकृष्ण माविले विराटनगरले लालीगुराँस बोर्डिङ स्कुललाई ४–० गोल अन्तरमा पराजित गरेको छ । राधाकृष्णका श्याम परियारले २ गोल तथा धिरज राजवंशी र कृश मण्डले १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच राधाकृष्णका कृश मण्डल भए ।
चौथो खेलमा विराटनगरको जनता नमुना माविले जेसी बाल सदनलाई ६–० गोल फरकमा पराजित गर्यो । आयुष राजवंशीले ३ गोल, ज्ञानु पौडेल, सबिन माझीले १–१ गोल गरे भने १ गोल आत्मघाती भयो । खेलको प्लेयर अफ द म्याच आयुष राजवंशी भए ।



















