
विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डको खेलकुद सम्बन्धी अन्तरप्रदेश भ्रमण तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
त्यस क्रममा बोर्डले गण्डकी, बागमती र मधेश प्रदेशका समकक्षी बोर्ड एवं परिषद्को भ्रमण गर्दै अनुभव आदानप्रदान गरेको हो। अनुभव आदानप्रदान कार्यक्रममा पोखरामा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले परिषद्ले नेपाल सरकारको नाममा रहेको खेलकुद संरचना प्रदेश मातहत ल्याउने तयारी गरेको बताए ।
शर्माले परिषद्ले खेल संस्थाहरू र प्रदेशमा सक्रिय प्रशिक्षक, रेफ्रीलाई अनिवार्य सूचिकृत गर्ने व्यवस्था गरेको जानकारी दिए । उनले खेलाडी कल्याणकारी कार्यक्रम संचालन कार्यविधि, खेल गतिविधिको टिकटबाट उठेको रकमको केही प्रतिशत कर्मचारी कल्याण कोषमा राख्ने व्यवस्था र खेलाडीलाई मर्यादाक्रममा ल्याउने तयारी गरेको समेत सुनाए ।
गण्डकी प्रदेश खेलकुद परिषद्का ध्वजकुमार गुरुङले प्रदेशले साहसिक खेलकुद र खेलकुद पर्यटनको प्रवर्द्धनलाई थप प्राथिमिकतामा राखेको धारणा व्यक्त गरे । हेटौँडामा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले नेपाललाई ‘स्पोर्ट टुरीज्म’ को रुपमा विकास गर्न केन्द्रीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले प्रदेश खेलकुद परिषद्लाई विश्वासमा लिएर काम गर्नु पर्ने बताए ।
लामाले परिषद्ले ‘प्रथम पारा खेलकुद प्रतियोगिता’ आयोजना गर्न सफल भएको समेत बताए । जनकपुरस्थित मधेश खेलकुद परिषद्का सदस्यसचिव शिवजी गुप्ताले स्थापना भएको थोरै समयमा प्रदेशले राष्ट्रियस्तरको ,उख्यमन्त्री कबड्डी कप आयोजना गर्न सफल भएको बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले भ्रमण तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्देश्य प्राप्त गर्न सफल भएको बताए । बस्नेतले अनुभव आदानप्रदान कार्यक्रममा अन्य प्रदेशको अनुभव सुन्नुको साथै कोशी प्रदेशले उत्कृष्ट रुपले सम्पन्न गरेको ‘प्रथम कोशी खेलकुद महोत्सव’ खेल संघ र संगठन दर्ताको कार्यविधि निर्माण लगायतको विषयमा बोलेका थिए ।
बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईका अनुसार बोर्ड उपाध्यक्ष विन्दिया कार्कीको नेतृत्वमा भ्रमणमा गएको टोलीमा बोर्ड सदस्यसचिव बस्नेत, बोर्डका सदस्य र कर्मचारीहरू, बोर्ड मातहतका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो ।




















