
विराटनगर । डनबस्को, राधाकृष्ण, दिल्ली पब्लिक र साई चिल्ड्रेन स्कुल विराटनगरमा जारी चौथो एसईई कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
पोखरिया युथ केयर एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा विराटनगरको डनबस्को स्कुलले विराटनगरकै बिकेभिएम स्कुललाई १–० गोलमा पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको छ । प्लेयर अफ द म्याच प्रकाश कामतले गोल गर्दै टोलीलाई विजयी बनाए ।
दोस्रो खेलमा विराटनगरको राधाकृष्ण माविले इटहरीको सहिद स्मृति स्कुललाई १–० गोल फरकमा हराउँदै क्वार्टर फाइनलमा पुग्यो । प्लेयर अफ द म्याच निशान्त चौधरीले निर्णायक गोल गरे ।
त्यस्तै, तेस्रो खेलमा विराटनगरको दिल्ली पब्लिक स्कुलले विराटनगरकै जनता नमुना माविलाई २–० गोलमा पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ । दिल्ली पब्लिकका लागि अमन खवासले २ गोल गरे । खेलको प्लेयर अफ द म्याच दिल्ली पब्लिकका आयुस सहनी भए ।
चौथो खेलमा इटहरीको साई चिल्ड्रेन होमले विराटनगरको सत्यनारायण माविलाई १–० गोल अन्तरमा पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको छ । इटहरीका लागि सुशान्त चौधरीले गोल गरे भने खेलको प्लेयर अफ द म्याच सुदीप सरदार भए ।



















