रौनकको ऐतिहासिक शतकसँगै नेपालको कीर्तिमानी जित, भुटान २९८ रनले पराजित

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १७, मंगलबार १४:१०

काठमाडौं । रौनक श्रीवास्तवको ऐतिहासिक शतक र बलरहरूको सशक्त प्रदर्शनमा नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा भुटानविरुद्ध २९८ रनको कीर्तिमानी जित निकालेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भुटान ३२.४ ओभरमै ९ विकेट गुमाएर ६० रनमा सीमित भएपछि नेपालले विजयी इनिङ टुंग्यायो । भुटानका तर्फबाट सेजाङ दावाले १४ र उगेन केल्जाङले १० रन बनाए भने बाँकी ब्याटरहरू सिंगल डिजिटमा आउट भए ।

नेपालका कप्तान विपिनप्रसाद शर्माको बलिङ घातक रह्यो । उनले १० ओभरमा ६ मेडनसहित जम्मा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्टले ८ ओभरमा ५ मेडनसहित १५ रन दिएर २ विकेट लिए भने सुयोग भट्टराईले पनि २ विकेट झारे ।

भुटानको नवौं विकेट खसेपछि मैदानमा वर्षा सुरु भयो र अन्तिम ब्याटर ब्याटिङमा नआएपछि खेल आधिकारिक रूपमा समाप्त भएको घोषणा गरियो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल योगफल खडा गर्यो ।

प्रतियोगिताको इतिहासमा नेपालले बनाएको यो दोस्रो सर्वाधिक योगफल हो । यसअघि यही प्रतियोगितामा इन्डोनेसियाविरुद्ध नेपालले नै ४२० रन बनाएको थियो ।

नेपालको जितको आधार बने रौनक श्रीवास्तव, जसले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको विस्फोटक इनिङ खेले । नेपाली खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यसअघि सन् २०२३ मा यू–१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध बनाएको १४३ रन नै नेपाली कीर्तिमानी स्कोर थियो । नेपालका ओपनरहरू चाँडै आउट भएपछि रौनकले शिवांश बजगाइसँग मिलेर तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरे ।

शिवांशले ५४ रन बनाए । त्यसपछि चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनको र पाँचौँ विकेटका लागि जोय थापासँग १७० रनको लयबद्ध साझेदारी भएको थियो । जोय ६१ रनमा अविजित रहे भने सुगमले ३५ रन बनाए ।

भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट झारे । यो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले, जापानलाई ९ विकेटले र इन्डोनेसियालाई ३७० रनले हराएको थियो ।

४ खेलमा ८ अंक जोडेको नेपालसँगै समूहको दोस्रो स्थानमा रहेको सिंगापुर पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब नेपाल सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

युवा खेलाडीहरूको प्रदर्शन, रौनकको कीर्तिमान र बलरहरूको अनुशासित खेलले नेपाललाई एसीसी यू–१६ इस्ट जोन क्रिकेटको बलियो दावेदारका रूपमा स्थापित गरिदिएको छ । अबको लक्ष्य उपाधि भएकाले त्यसका लागि नेपाली टोली पूर्ण रूपमा तयार देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.