सुशान्त बगालेको जीवन : ‘सिम्प्ली द वेष्ट’

मुलुकी खबर
देवेन्द्र खापुङ
clock२०८२ असार २१, शनिबार १४:०५

फूल पनि जीवन
जून पनि जीवन
रोजाइ हो फरक

रमेशजंग सिजापतीका यी गीतका टुक्रा र सुशान्त बगालेका जीवन उस्तै–उस्तै लाग्यो । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि भोग्नु पर्छ । कतिपय जीवन रोज्नु पर्छ । जसले गर्दा जीवन आफैं आफैंमा पूर्ण बन्दो रहेछ । किनभने मान्छेको जीवन जुनसकै क्षेत्रमा लागे पनि कुनै न कुनै ठाउँमा उपयोगी बन्ने रहेछ । तसर्थ यो क्षेत्रमा लागिस् र नराम्रो गरिस् भनेर भन्नु मुर्खता रहेछ – यदि बुझ्नेका लागि ।

बुझ्नेका लागि भनेर त्यसै तोकिएको होइन, कुनै कुरा आफ्नो जीवनको हितमा छैन भनेर जान्दाजान्दै पनि त्यसमा लाग्नु र त्यसमा फस्नु भन्दा त्यसको गुदी कुरा बुझेर फुत्त बाहिर आउनु जीवनको लागि सर्वोत्तम हुने रहेछ । सुशान्त बगालेको जीवनको तीन दशकको अवधिमा भोगेको कुराले यीनै कुरा सिकाएको छ ।

उनी सबैसँग भिज्न सक्ने, स्पष्ट वक्ता हुन् । मलेसियाका नेपालीहरूले मात्र एउटा रेमिट संस्थाको कर्मचारी भनेर चिन्लान् । उनको भित्री कुरा त्यो भन्दा धेरै फरक छन । उनी कवि हुन्, भावनालाई जित्ने । राजनैतिक पृष्ठभूमिका व्यक्ति हुन् र बाँकी व्यवस्थापन पक्षलाई आँक्न सक्ने युवा व्यक्तित्व पनि हुन् ।

जतिबेला रुसमा क्रान्ति भइरहेको थियो, त्यतिबेला ‘आमा’, ‘चम्किलो रातो तारा’ जस्ता पुस्तकहरू प्रकाशित भए । ती पुस्तकहरूले सबैलाई क्रान्तिमा होम्याउन सफल बनाएको थियो । यो प्रसंगले सुशान्त बगालेमा पनि छोयो । चितवनको खान्दानी कुलमा जन्म भएको कारण कुनै समस्या त भोग्नु परेन । उनकै शब्दमा लेख्नुपर्दा उनी ज्यादै नै सोझो थिए, सधै आमाबाबाको काखमा मात्र बस्न चाहने ।

बाबा डिल्लीराम बगाले श्री पारसनगर निम्न माध्यमिक विद्यालयको स्कुलको सञ्चालक समितिभित्र भएको कारण पनि होला, शिक्षकहरू सुशान्तको घर हुँदै स्कुल जान्थे साथमा उनलाई डोर्याएर स्कुल लान्थे । स्कुलले उनलाई राम्रो शिक्षा दियो । तसर्थ उनी स्कुलमा सधै पहिला पहिला, दोश्रा हुन थाले । वंशाणुगत त थिएन नै तर पनि धेरै सानो उमेरमै कविता लेख्न थालेका थिए ।

तीन कक्षामा पढ्दाताकै एउटा पुरानो लोकगीत गाएर पुरस्कार हात पारेका थिए । पुस्तक, पत्रिकाको भोगी भएकै कारण उनले सात कक्षा पढ्दा पढ्दै ‘चम्किलो रातो तारा’ पुस्तक पढ्न भ्याइसकेका थिए । त्यस पुस्तकको परिधि पनि एउटा बालकको कथा नै छ । तसर्थ उनमा पनि कसो कसो क्रान्तिले पच्छ्याउन सुरु गर्यो नै ।

निम्न माध्यमिक विद्यालयको पढाइ पूरा गरेपश्चात उनले नारायणी माविबाट एसएलसी पूरा गरे र बालकुमारी क्याम्पस, ललितपुरमा भर्ना हुन पुगे । क्याम्पस पुगेपछि राजनैतिक परिवेशले छुन्छ । उनी सात कक्षा पढ्दाताकै राजनीतिलाई मगजमा घुसाएका व्यक्ति । तुरुन्तै राजनीतिक क्रियाकलापमा सक्रिय हुन थाले ।

राजनीतिमा निकै अघि पनि बढे । उनी अनेरास्ववियु समर्थित थिए । तसर्थ २०५३ मा उपसभापति र २०५७ मा सभापतिको उम्मेदवार पनि बनेका थिए । तर, पराजित हुन पुगे । त्यसो त चितवनमा अनेरास्ववियु नगर क्षेत्रिय कमिटीको अध्यक्ष हँुदै प्ररायु संघको जिल्ला कमिटीमा पुगेका थिए । त्यस कमिटीको प्रचारप्रसार विभाग प्रमुख र नगर इञ्चार्ज पनि सम्हाल्नु परेको थियो । परिवारसँग यो कुरा चाहिँ मिलेको थियो । किनभने उनका बाबा चितवनका सबैभन्दा पुराना वामपन्थी हुन । तसर्थ, वातावरण राम्रो हुने नै भयो ।

वामपन्थी राजनीतिमा जिल्लासम्म पुग्नु धेरै राम्रो मानिन्छ । त्यसलाई पनि लत्याएर उनी जागिरे हुन पुगे । उनले यसलाई यसरी प्रष्ट पारे कि – जुन कुरा ठीक छैन भनेर जान्दाजान्दै पनि राजनैतिक परिवेशमा होमिएको थिएँ । राजनीतिभित्र बहुत ठूलो राजनीति हुन्छ भन्ने निष्कर्ष निकाले । यो भयो उनको राजनैतिक चरित्र ।

राजनीति आफ्नो ठाउँमा भएपनि उनी अन्य ठाउँमा सक्रिय नै थिए । व्यवस्थापनका विद्यार्थी भएका कारण उनी बसेको सानेपामा बचत समूह बनाउन सफल भए । स्नातक अध्ययन गर्दा प्रमाणपत्र तहकालाई पढाउने, मास्टर्स गर्दा स्नातकलाई पढाउने उनको नियमितता नै थियो । तसर्थ, उनलाई कुनै पनि किसिमको कठिनाइ भएन जीवन चलाउन ।

राजनीति गर्दा बोल्न, मान्छेलाई कन्भिन्स गर्न जानेका थिए । त्यहीनेर नै त बुझे मन नपरेको राजनीतिमा लागेर पनि धेरै सिकें भन्ने । उनको चातुर्यताले जागिर खानको लागि राम्रो मौका मिल्यो । किनभने हजारौंको संख्यामा आएका प्रतिस्पर्धीहरूमा बिना सोर्स जागिर खान पुगे ‘इयु’ अन्तर्गतको । हुन पनि नेपालमा म्यानेजमेन्ट गरेको विद्यार्थीको राम्रो मौका हुन्छ । आवश्यकताको विज्ञापन पत्रिकाभरी छापिएको हुन्छ । तर, के गर्ने उचित शिक्षाको अभावमा विज्ञापन खेर गइरहेको हुन्छ, नेपालमा ।

फेरि अर्को कुरा, विज्ञापन ‘फर्मालिटी’को लागि राखिएको हुन्छ । कुनै पनि कार्यक्रमको फेज आउट भइसकेपछि नयाँ कार्यक्रमको लागि आवश्यकता निकालिने ‘फर्मालिटी’ पूरा गर्नुपर्छ । तर, भित्री व्यवहार भने ति पुरानै कर्मचारीहरूलाई राखिएको हुन्छ । त्यसैगरि आईएमईको सुरुवात पश्चात त्यसको कार्यक्रममा सहभागी पनि थिए उनी । एसीसीए अध्ययनरत छँदा ठुल्ठूला फर्महरूमा अडिट गर्नु भ्याएको भएपनि आईएमईले मलेसियाको लागि बजार व्यवस्थापनको निम्ता दियो ।

उनलाई प्रेमिल व्यक्ति पनि मान्न सकिने रहेछ । उनी साहित्यिक व्यक्ति त थिए नै, त्यसैले त गहिरो भावमा डुब्नु स्वभाविकै हो । नाम भन्न चाहेनन् । उनको एक जनासित गहिरो प्रेम हुन पुग्यो । तर, त्यस प्रेमले जीवन्तता पाएन । जसले धेरैभन्दा धेरै भाव विह्वल पारेको बताउँछन् – सुशान्त ।

त्रिभुवन युनिभर्सिटीले आयोजना गरेको युनिभर्सिटी स्तरीय प्रेम–पत्र लेखनमा प्रथम हुन पुग्न पनि यही कारण हो कि ? पछि जीवनसंगिनी उषा कँडेलसँग लगन गाँठो गाँसिएपछि पुरानो घाउ पुरिँदै आएको कुरा पनि ओकल्छन् । स्नातक अन्तिम वर्षमा अध्ययनरत उषा हाल उनीहरूको जीवनलाई सफल बनाउन हरदम प्रयासरत रहेकी छिन् ।

भरतपुर नगरपालिकाले प्रकाशित गरेको स्मारिकामा (प्रश्नवाचक) शीर्षकको कविता प्रकाशन गरेर छापामा आए । त्यसपछि क्रमशः स्थानीय पत्र–पत्रिकाहरू र राष्ट्रिय स्तरको पत्र–पत्रिकाहरूमा उनको रचनाले आश्रय पाउँदै गयो ।

चितवनलाई साहित्यको उर्वर थलो नै मानिन्छ । केही युवा साहित्यकारले चितवनलाई गजलको राजधानीसमेत बनाउने अभिलाषामा उनले भने गीत लेखेका रहेछन् । २०६१ सालमा भद्रध्वज गुरुङको स्वरमा रेकर्डिङ भएको उक्त गीतले चितवन अवार्ड पनि जितेको रहेछ । अब फेरि भद्रध्वज गुरुङकै स्वरमा ‘अनमिका’ नामक एल्बम चाँडै आउँदैछ भने आनन्द कार्कीको स्वरमा पनि गीत रेकर्डिङ हुँदैछ ।

एकवर्ष पूरा गरी अर्कोवर्ष मात्र दौडिरहेका छन् – सुशान्त, मलेसियाको हकमा । मलेसिया उनले सोचेभन्दा धेरै नै फरक लाग्यो रे । यहाँको वातावरण धेरै अगाडि बढेको सञ्चारमाध्यम, साहित्यप्रेमी साथीहरूसँग चिनजान, बसउठ उनलाई पुनः सक्रिय हुने मौका दियो नै । पुस्तकको भोगी भएकोले यहीका पाठकहरूमा छाएका सञ्जय राई ‘छुच्चा’सँग पुस्तक आदानप्रदान नै उनको लागि सजिलो बन्यो । त्यो भन्दा पनि धेरैभन्दा धेरै नेपालीहरूको माझमा उनी आफैं पुगिसकेका छन् । उनीहरूको दुःखव्याथा बुझेका छन् । र, बुझेर नै निष्कर्ष निकालेका छन् – विदेश गएर कमाउन सजिलो देखेर नेपालदेखि धमाधम पासपोर्ट बनाइरहेका छन् । तर, कमाउन कति गाह्रो रहेछ ?

अहिले भन्छन् – साहित्यको कुनै निश्चित आकार हुँदैन रहेछ । त्योबेला राष्ट्रभक्ति र द्वन्द्वको विषयमा केन्द्रित हुन्थ्यो, लेखाइ । अहिले जुनसुकै क्षेत्रलाई उदाङ्गो पार्न सक्ने सशक्त हतियारको रूपमा लिन्छन्, लेखाइलाई ।

विश्वको सुचीमा गरिब राष्ट्रमध्ये पर्ने नेपाल । तर, नेपाल नै विश्वको धेरै पासपोर्ट वितरण गर्ने देशमा पर्छ । सबैको हातमा पासपोर्ट छ, सबैको ध्याउन्न रहेको विदेश गएर कमाउने । नेपालको प्रमुख आम्दानी नै रेमिट्यान्स हो । तर, जति रेमिट्यान्स भित्राए पनि के गर्ने, जुन ठाउँबाट आयो त्यही ठाउँमा पुग्छ । किनकि नेपालमा केही उत्पादन हँुदैन । कमाएर ल्याएको पैसाले घर चलाउन लगानी गर्नुपर्ने हुन्छ । लगानी गर्दा कुनै पनि वस्तु नेपालमा नबन्ने भएकोले गर्दा रकम त उतै पुग्ने नै भयो ।

‘के छ त यसको उपाय ?’ जिज्ञासा राख्दा उनको अनुभूतियुक्त उत्तर आउँछ,– नेपालमा उत्पादनको लागि लगानी बढाउनु पर्यो । नेपालको चिया र पस्मिना विदेशमा माग छ । तर, उपयुक्त गुणस्तरको वस्तु दिन नसक्दा कोटाअन्तर्गत पर्ने हिस्सासमेत नेपालले गुमाउन परेको छ । तसर्थ, कसरी विदेशी रूपैयाँ नेपाल भित्राउन सकिन्छ र ! यो सोच सबैमा पुर्याउन टड्कारो रूपमा आवश्यकता छ ।

दिनभरि देखेको, भोगेको अनुभूतिलाई बेलुकी लेख्नेको लागि समय निकाल्ने गरेका छन् –सुशान्तले । प्रवासी जीवनशैलीलाई आफ्नै पारामा चलाइरहेका छन् । डेरामा बसेर क्याम्पस गए जस्तो हँुदैन रहेछ –प्रवास । पूर्वदेखि पश्चिमसम्मका मानिसहरूको जमघट हुन्छ । मिलेर बस्नुपर्ने हुन्छ । प्रत्येक नेपालीहरूले होस्टेलमा मिलेर बस्नको लागि आफ्नै रुटिन बनाएका हुन्छन् । त्यो जीवनशैली उनमा गढेको छ । होटलमा खाना खाने गरेको रुटिनलाई बदली गरी कोठामै साथीहरूसँग खाना बनाएर खाने चलन बसाएका छन् ।

उनले खाका कोरिसकेका छन् –१९दिने जनआन्दोलनको क्रममा पूरै समय सडकमै बिताएका थिए । त्यसपछि लगत्तै मलेसिया आइपुगेर विभिन्न ठाउँहरूमा नेपालीहरूको अवस्था बुझ्ने मौका पाए । आन्दोलनको प्रभाव र प्रवासमा नेपालीहरूको अवस्थाले लेख्ने उर्जा प्राप्त गरे । हेरौं, भनेका छन् –पुस्तकको रूपमा आउँछ कि ?

तीन दिदीबहिनी र तीन दाजुभाइमा उनी माइला हुन् । दिदी र दाइको असामयिक मृत्यु उनका लागि कहिल्यै नबिर्सिने क्षण बनेको रहेछ । जो कोहीको स्वभाविक मृत्यु र उमेर पुगेपछि हुने मृत्यु हुँदा मान्छेमा सन्तोष हुन्छ नि ! तर, उमेर छँदै अस्वभाविक मृत्यु हुन पुग्न कति दुःखदायी हुनपुग्छ ? डाक्टरको लापरबाहीले दिदीको र सामान्य दुर्घटनामा दाइको मृत्यु भएको सम्झदा उनी धेरै नै गम्भीर हुने गर्छन् ।

खैर, जीवन विभिन्न खाले बाँचेपनि जीवन नै हो । सामान्य जीवन बाँच्नु जिन्दगीको सबैभन्दा उत्तम हो भन्छन् । तसर्थ, उनको शब्द फेरि पनि रमेशजंग सिजापतीमै ठोक्कियो –

घाम पनि जीवन
पानी पनि जीवन
भोगाइ हो फरक ।
०००

१६ वर्ष अगाडि सुशान्त बगालेसँग कुराकानी गरेर मलेसियामा नै प्रकाशित हुने साप्ताहिक पत्रिका नेपाल सन्देशमा छापिएको थियो –यो लेख । अहिले सुशान्त यस संसारमा छैनन् । उनी जर्मनीमा दुर्घटनामा बितेको खबर पनि निकै ढिलोगरी प्राप्त भयो । सुशान्तसँगको सम्झना, कुराकानीलाई मलेसियामा रोजगाररत साहित्यकार जीवन देवान गाउँलेले सुरक्षित राखेका रहेछन् । त्यसलाई जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.