‘नसाको बन्दी छोरा’

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार २१, शनिबार १९:१२

खुलेको आकाश, मन्द शीतल हावा, चारैतिर चाडपर्वको रौनक । यस्तो रमाइलो दिनमा पनि दिलमायाको मनमा भने भयानक आँधी चलिरहेको थियो।

अनुहारभरि कालो बादल मडारिएझैँ पीडा छरिएको थियो। आँखाका डिलमा थुनिएको आँसु छर्लङ्ग देखिन्थ्यो । जसमा उनको अन्तरमनको कहालीलाग्दो यात्रा बाँचिरहेको थियो ।

Advertisement

शनिबारेमा हटिया भर्न आएकी बहिनीलाई जब दिलमायाले दैलोको संघारमा देखिन् । वर्षौंदेखि थुनिएको पीडाको बाँध एक्कासि फुट्यो। आँखाबाट आँसुको भेल बग्यो, मानौं आफ्नै चित्तका कैयौं पुराना घाउहरू धोइदियोस् भन्ने चाहना झल्किन्थ्यो।

श्रीमान् जागिरको सिलसिलामा टाढा । छोराछोरीको जिम्मेवारीले थिचिएकी दिलमाया भित्रभित्रै टुक्रिइरहेकी थिइन्। जीवनमा सन्तान सुख भनेको केवल नामकै थियो । न साथ, न त भरोसा।

छोरी सुवानी थिइन्, बुझ्ने र आमा सम्हाल्ने। तर छोरा, त्यो भने जीवनको सबैभन्दा गहिरो पीडा बनेको थियो। मनमनै सुस्केरा लिँदै भन्थिन्, ‘के गरेको हौ बाबु, कहाँ पुगिस ?’

पछिल्लो पटक फेरि फौदारी खेल्दै हिँडेको छोरो, गाँजाको झिम्झिमे मोहमा हराएको थियो। पुलिसले लग्यो रे ? छोरीले आत्तिँदै सुनाउँदा दिलमायाको मुटु कति चिरिएको होला ? त्यो घाउ त शब्दले मात्र नाप्न सकिँदैन।

पल्लो घरकी बासुकीले पहिल्यै भनेकी थिइन्, ‘तेरो छोरा बिग्रियो, अलि ख्याल गर, सम्झाउनु है ।’ तर, दिलमाया भने मेरो छोरा त्यस्तो होइन भन्ने भ्रममा बाँचेकी थिइन्। त्यो भ्रम चिरिएपछि उनले पीडालाई नै छोप्न खोजिन्।

सेरे डबुकामा जाँड छानेर बहिनीले दिलमायालाई दिइन्। आँसुले निथ्रुक्क भिजेको गाला पुछ्दै उनले जाँडको घुट्की लिइन्। त्यो घुट्कीमा दुःखको स्वाद मिसिएको थियो । जाँडले अमिलिएको जिब्रोबाट कहिल्यै नबोलेका पीडाहरू चुहिन थाले।

घुँक्क, घुँक्क । रुवाइको आवाज र जाँडको घुट्कीसँगै पीडा पनि मिसिँदै थियो। भन्दै थिइन्, ‘कहिल्यै राम्रो बोलेन बाबु, भात पनि मजाले खाएन, सधैं साथीभाइसँग घुम्थ्यो। कहाँ सुत्थ्यो ? के थाहा हौ ? सोधिनँ पनि, विश्वासमै छाडेको थिएँ।’

यति भन्नासाथ उनको स्वर झन् कापेजस्तो लाग्थ्यो। छोराको यादले रातमा झन्-झन् सताउँथ्यो। दसैंको टीका आउन ४ दिन मात्रै बाँकी थियो। छोरो हिरासतमा, आमा घरमा । आधा रातको सन्नाटामा आँसु र चिच्याहट एकैसाथ आउँथ्यो । आत्माले भन्नेजस्तो, कसरी पो बाँच्नु हौ ? कस्को लागि यो सास ?’

छोरी र बहिनीको सहारा त थियो । तर, त्यो पनि पीडाको सागरमा एउटा सानो डुंगा मात्र। उज्यालो भएपछि थाना पुगिन्। रुँदै–कराउँदै भनसुन गरेर दसैं मनाउन छोरा छुटाइन्। तर, त्यो छुटाइ नै अन्तिम खुसीको किरण बन्न सकेन।

छोराले त आफूलाई बाँध्ने सबै डोरी नै काटिसकेको थियो। पहाडमा गाँजाले मात्र जितेको थियो । पढ्न भनेर सहर पसेको छोराको ब्राउन सुगरले आत्मा नै हरायो। परिवार, समाज, आत्मसम्मान सबै टाढा भयो। आमाको नजर, बाबुको सपना सबै च्यातिए।

छोरो सुध्रिएला भनेर दिलमायाले लगन पनि कसिदिइन् । केही समयपछि सन्तान जन्मियो । परिवार ठीकठाक जस्तै देखिन्थ्यो। तर, एक्कासि उही पुरानै लतले फेरि समात्यो । फेरि हिरासत, फेरि आँसु, फेरि समाजको प्रश्न।

हिरासतभित्र उसले सुध्रिने बाचा गर्दथ्यो। बाहिर निस्कँदा भने फेरि उही अँध्यारो बाटो। अन्तिम आशाका चिहानमा बसेकी दिलमायाले निथारिएको स्वरमा भनिन्, ‘अब त जिउँदो लासझैँ भइसकेँ । भगवान, सुधारिदेऊ।’

७२ औँ वसन्त काटिसक्दा उनको आँसुको मुहान सुकिसकेको थियो। आशाको ज्योति निभिसकेको थियो। उनी आफैं चन्द्रमाको उज्यालोझैँ टाढा र चिसो सपनामा परिणत भएकी थिइन्।

उनको अन्तिम चाहना भने यत्ति मात्रै थियो, ‘छोराले १ दिन ढिलो भएपनि बाबुको बिरासत थामोस्। परिवारको चुँडिएको गाँठो फेरि बाँधियोस्। नसाले विखण्डन गरेको मन, घर, समाज फेरि जोडियोस्।’

किनभने समाज त सधैं अरूको सुखमा मात्रै ताली बजाउँछ । दुःखको आवाज त सुन्दैन। गाँजाले उसको बाल्यकालको उज्यालो खोस्यो । अहिले ब्राउन सुगरले परिवारको आधार नै भत्काइदियो।

उसले न उमेरको स्वाद बुझ्यो, न परिवारको माया, न समाजको स्पर्श । बुझेको त उही नसाको झुमाइमा देखेको क्षणिक सपना मात्र।

न भविष्य देख्यो, न वर्तमानको रमाइलो महसुस गर्न सक्यो। आमाको सुस्केरा, बाबुको चाउरिएको गाला र टुक्रिन लागेको परिवार । फेरि पनि दिलमायाको अन्तिम प्रार्थना यही थियो, ‘छोरा र उसको विखण्डन हुन लागेको परिवार कुनै दिन फेरि एकजुट होओस् । फेरि नयाँ जीवनको आशामा जोडियोस्।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×