
काठमाडौं । नेपालका शिवजी सिलवालले प्रथम थाउलो र दोस्रो सान्डा एसिया कप उसु च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।
चीनको चिलिङ सहरमा गत जुलाई ३ तारिखदेखि आयोजना भएको च्याम्पियनसिपमा शिवजीले सान्डाको ९० केजी तौल समूहमा उक्त पदक जितेका हुन् । यस तौल समूहमा भारत पहिलो र काजकिस्तान दोस्रो हुँदा नेपाल तेस्रो भएको हो ।
एसियन उसु महासंघको आयोजना भएको प्रतियोगिताका लागि केही महिनाअघि मकाउमा सम्पन एसियन उसु च्याम्पियनसिपबाट दीपक हमाल र शिवजी छनोट भएका थिए । एसियन उसु कपमा ३२ राष्ट्रका खेलाडी सहभागी थिए ।



















